वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ, डमी खेलाडीमार्फत ठगी गरेको आरोप



काठमाडौँ , पुस १३ । काठमाडौँको ठमेलमा सञ्चालनमा रहेको वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालि (वाल्डो क्यासिनो) का अध्यक्ष पक्राउ परेका छन् । प्रहरीले क्यासिनोमा ठगी गतिविधि सञ्चालन गरेको आरोप मा चिनियाँ नागरिक च्यान मिन चिङ्गलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शुक्रबार च्यान मिन चिङ्गलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार क्यासिनोभित्र डमी खेलाडी तयार पार्ने, आँखामा विशेष लेन्स प्रयोग गर्ने तथा तासमा चिप्स जडान गरेर खेलमा हेरफेर गरी ठगी गर्ने गतिविधिमा संलग्न रहेको आशंकामा उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले क्यासिनो सञ्चालनका क्रममा संगठित रूपमा ठगी गरिएको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको जानकारी दिए । प्रारम्भिक अनुसन्धान अनुसार ठमेलस्थित अलफ्ट होटल परिसरमा सञ्चालित उक्त क्यासिनोमा ‘क्यासिनो इभेन्ट’ को नाममा जुवा खेलाइ ठगी गर्ने गिरोह सक्रिय रहेको देखिएको छ ।

प्रहरीले यसअघि पनि सोही प्रकरणमा संलग्न रहेको आरोपमा भारतीय समूहका केही सदस्यलाई पक्राउ गरिसकेको छ । मङ्सिर २६ गते भारतको महाकाय समूहका ५७ वर्षीय सुरेश महाजनसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरू क्यासिनो इभेन्टको बहानामा योजनाबद्ध रूपमा जुवा खेलाएर ठगी धन्दा सञ्चालन गरिरहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार क्यासिनोभित्र प्रविधिको दुरुपयोग गरी खेलमा अनियमितता गरिएको, विदेशी नागरिकलाई लक्षित गरी ठूलो रकम ठगी गरिएको आशंका गरिएको छ । घटनासँग सम्बन्धित थप प्रमाण संकलन तथा अन्य संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यस घटनाले क्यासिनो क्षेत्रमा हुने अनियमितता र ठगी गतिविधिप्रति राज्यको निगरानी कमजोर भएको प्रश्न उठाएको छ । प्रहरी प्रशासनले क्यासिनो सञ्चालनसम्बन्धी नियमको कडाइका साथ पालना गराउने र दोषीमाथि कडा कारबाही गरिने जनाएको छ ।

प्रकाशित मिति: २०८२ पुष १४, आइतवार १२:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको