वीपी राजमार्गबाट लागुऔषधसहित युवक पक्राउ



बर्दिवास, पुस १३ । बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित वीपी राजमार्गबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । धनुषा जिल्ला बटेश्वर गाउँपालिका–२ पाटु टोलका २५ वर्षीय पारस राणा मगरलाई शनिबार नियन्त्रणमा लिइएको हो ।

बर्दिवासस्थित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय र इलाका प्रहरी कार्यालय बर्दिवासको संयुक्त कमाण्डमा खटिएको ट्राफिकसहितको सुरक्षा टोलीले विशेष सुचनाका आधारमा उनलाई पक्राउ गरेको ब्युरो प्रमुख सरोज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका मगर जनकपुरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१३ नम्बरको यात्रुबाहक हायस गाडीमा थिए । तलासी गर्दा उनको झोलाभित्र टेपले र्‍याप गरी लुकाइछिपाई राखिएको ‘कोडाइन फस्फेट ट्रिपोलिडाइन सिरप’ बरामद भएको हो । यो लागुऔषध १६५ बोतल रहेको पुष्टि भएको छ ।

बरामद लागुऔषधसहित मगरलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि बर्दिवासस्थित इलाका प्रहरी कार्यालयमा बुझाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।

यस घटनाले मधेश प्रदेशमा लागुऔषध तस्करी र वितरण नियन्त्रणमा कडा निगरानीको आवश्यकता रहेको देखाएको छ । प्रहरीले आम नागरिकलाई सचेत रहन र शंका लागेका गतिविधिबारे प्रहरीमा जानकारी गराउन आग्रह गरेको छ ।

लागुऔषध नियन्त्रणमा प्रहरीले सक्रिय भूमिका खेलेको यस प्रकारको सफल नियन्त्रणले अपराध न्यूनिकरणमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०८२ पुष १४, आइतवार १२:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको