जसपा नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरण गर्ने निर्णय



काठमाडौं, पुस १४ । जनता समाजवादी पार्टी, (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, (लोसपा) नेपालबीच पार्टी एकीकरण गर्ने निर्णय भएको छ। दुवै पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरसहित शीर्ष नेताहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले एकीकरणको निर्णय गरेको हो।

संयुक्त बैठकले देशको वर्तमान राजनीतिक अवस्थाको मूल्याङ्कन तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ र संस्थागत गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ। संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पछाडि पारिएका समुदायको अधिकारका मुद्दालाई अझ मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यका साथ पार्टी एकीकरण गर्ने निर्णय गरिएको जनाइएको छ।

बैठकमा लोकतन्त्र सुदृढीकरण, समावेशी शासन प्रणाली स्थापना र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न दुवै पार्टीबीच सहकार्यलाई थप प्रभावकारी बनाउँदै एकीकृत रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। नेताहरूले राजनीतिक स्थायित्व र जनआकांक्षाको सम्बोधनका लागि एकीकृत शक्ति आवश्यक रहेको धारणा राखेका छन्।

पार्टी एकीकरणसँग सम्बन्धित आगामी कार्यविधि, संगठनात्मक संरचना तथा नेतृत्व व्यवस्थापनका विषयमा थप छलफल गरी आवश्यक प्रक्रिया अघि बढाइने दुवै अध्यक्षले बताएका छन्। यसका लागि छिट्टै कार्यदल गठन गरी चरणबद्ध रूपमा एकीकरण प्रक्रिया अगाडि बढाइने तयारी गरिएको जनाइएको छ।

मधेश केन्द्रित राजनीतिक दलका रूपमा परिचित यी दुई पार्टीको एकीकरणले मधेशको राजनीति मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष १५, सोमवार ०७:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको