काठमाडौं, पुस १४ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न प्रतिनिधिसभा निर्वाचनको विकल्प खोजिए मुलुक फेरी दुर्घटनामा पर्ने बताएका छन ।
आज बिहान बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिबाट देशलाई निकास दिनको एकमात्र विकल्प निर्वाचन भएको बताए । उनले भने, “यो देशलाई निकास दिने अब निर्वाचनमात्रै सबभन्दा राम्रो विकल्प हो। अन्य विकल्पतिर सोच्यो भने फेरी देश अर्को दुर्घटनामा पर्छ।”
उनले निर्वाचनमार्फतै देशलाई स्थिरता र विकासको नयाँ प्रक्रियामा लैजान सकिने बताएका छन्। प्रचण्डले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुने वातावरण बनेको पनि औँल्याए।
फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारी गर्दा आफू खुसी भएको प्रचण्डले बताए।
साथै, उनले शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता विषय राज्यको दायित्वभित्र जानुपर्ने र अन्ततः ती सेवाहरू निस्शुल्क हुनुपर्ने चाहना रहेको बताएका छन्। प्रचण्डले भने, “आउने दिनमा हामी त्यसका लागि आफ्नो ठाउँबाट निरन्तर प्रयास गर्ने विश्वास म तपाईंहरुलाई दिलाउन चाहान्छु।”
उनको सम्बोधनले आगामी निर्वाचनका लागि राजनीतिक एकता र तयारीको सन्देश दिएको विश्लेषकहरूले बताएका छन्।




