रौतहट, पुस १४ । रौतहट जिल्लामा चिसो अत्यधिक बढेसँगै चन्द्रपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय मा जाडो बिदा दिएको छ। लगातारको शीतलहर र चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिका यस्तो निर्णयमा पुगेको हो।
चन्द्रपुर नगरपालिकाका शिक्षा अधिकृत दीपेन्द्रकुमार मण्डलका अनुसार पुस १४ गतेदेखि १८ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालय बन्द रहनेछन्। “चिसोका कारण विद्यार्थीहरू बिरामी पर्ने जोखिम बढेको छ। बालबालिकाको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता भएकाले जाडो बिदा दिने निर्णय गरिएको हो,” उहाँले जानकारी दिनुभयो।
यसअघि पनि रौतहटका विभिन्न स्थानीय तहले चिसोका कारण विद्यालय बन्द गरेका थिए। माधव नारायण नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै पुस १३ देखि १८ गतेसम्म नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा बिदा दिएको थियो।
त्यसैगरी गौर नगरपालिका, राजपुर नगरपालिका, राजदेवी नगरपालिका र ईशनाथ नगरपालिकाले पुस ८ देखि ११ गतेसम्म चार दिनका लागि विद्यालय बन्द गरेका थिए। देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, वृन्दावन नगरपालिका र गढिमाई नगरपालिकाले पुस ९ देखि ११ गतेसम्म तीन दिनका लागि विद्यालयमा बिदा दिएका थिए।
चिसो र शीतलहरको अवस्था यथावत् रहेपछि वृन्दावन नगरपालिकाले पुनः पुस १३ देखि १५ गतेसम्म तीन दिनका लागि विद्यालय बन्द गरेको छ। वृन्दावन नगरपालिकाका प्रमुख विनोदप्रसाद कुर्मीले मौसमको अवस्था अनुकूल नभए बिदा थप हुन सक्ने जानकारी दिनुभयो।
यसैबीच जिल्लामा चिसोका कारण जनजीवन प्रभावित बनेको छ। बिहान र साँझ अत्यधिक चिसो, कुहिरो र शीतलहरका कारण सर्वसाधारण, विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र विपन्न वर्ग बढी प्रभावित भएका छन्। स्थानीय तहहरूले आवश्यक सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरेका छन्।




