काठमाडौं, पुस १५ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति, अमनचयन र दिगो लोकतन्त्र स्थापना गर्न निर्वाचन नै एकमात्र वैधानिक माध्यम भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले देशले अब थप अस्थिरता र अशान्ति सहन नसक्ने अवस्थामा पुगेको बताउँदै आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अघि सार्न प्रसाईंलाई सुझाव दिइन् । साथै उनले जनतामा गएर आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको सही बाटो भएको स्पष्ट पारिन् ।
नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने माग अघि सार्दै आएका प्रसाईंलाई प्रधानमन्त्रीले निर्वाचनको प्रक्रियामार्फत जनसमर्थन जुटाउन आग्रह गरिन् । मुलुक निर्वाचनको तयारीमा होमिइसकेको अवस्थामा यस अवसरको सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो ।
“धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति र सुव्यवस्थातर्फ फर्काएका छौँ,” प्रधानमन्त्री कार्कीले भनिन्, “सबै किसिमका आशंका चिर्दै देश पूर्ण रूपमा निर्वाचनको वातावरणमा प्रवेश गरिसकेको छ । यस्तो समयमा सबै पक्षबाट जिम्मेवार भूमिका अपेक्षित छ । यो देश मेरो पनि हो भन्ने भावना राखेर सबै अघि बढ्नुपर्छ ।”
प्रधानमन्त्रीले शान्ति कायम राख्न आग्रह गर्दै प्रसाईंलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहारसमेत दिइन् । भेटका क्रममा उनले सरकार सत्ताभोगका लागि नभई सुशासन, भ्रष्टाचार नियन्त्रण र शोषित–पीडित वर्गलाई न्याय दिलाउने उद्देश्यका साथ अघि बढिरहेको बताइन् ।
“हामी न्यायका पक्षधर हौँ । सबै कुराको परिणाम तत्काल देखिन नसके पनि आधार तयार पार्दै गएका छौँ,” उनले भनिन्, “तपाईंले उठाउनुभएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि सरकारले गृहकार्य गरिरहेको छ । यस विषयमा थप छलफल पनि गर्दै जानेछौँ ।”
प्रधानमन्त्री र प्रसाईंबीचको भेटलाई समसामयिक राजनीतिक परिस्थितिमा महत्वपूर्ण रूपमा हेरिएको छ ।




