चीनसँगको सम्भावित द्वन्द्वलाई ध्यानमा राख्दै भारतले हिमाली क्षेत्रमा सुरुङ, सडक र एयरस्ट्रिप निर्माण तीव्र पार्दै



काठमाडौं , पुस  १५ । भारतले उत्तरी सीमामा चीनसँग हुन सक्ने सम्भावित द्वन्द्वलाई मध्यनजर गर्दै हिमाली क्षेत्रमा सुरुङ, सडक र एयरस्ट्रिप निर्माणलाई तीव्रता दिएको छ । सन् २०२० मा लद्दाखस्थित गलवान घाँटीमा भारत–चीन सेनाबीच भएको झडपपछि भारतले आफ्नो सैन्य रणनीति र पूर्वाधार निर्माणमा व्यापक परिवर्तन गरेको हो ।

गलवान झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । सो घटनाले भारतलाई सीमावर्ती क्षेत्रमा तत्काल सैन्य सहायता पुर्‍याउन आवश्यक भौतिक संरचनाको अभाव स्पष्ट रूपमा उजागर गरेको बताइन्छ । वाल स्ट्रिट जर्नलका अनुसार भारतले अक्साई चीन नजिकको क्षेत्रमा करोडौँ डलर खर्च गरेर सडक, सुरुङ र हवाई पूर्वाधार निर्माण गरिरहेको छ ।

दशकौँदेखि चीनले आफ्नो सीमावर्ती क्षेत्रमा सडक, रेल र सुरुङको विशाल सञ्जाल विकास गर्दै आएको थियो । यसका कारण चीन केही घण्टामै सीमामा सैन्य सहायता पुर्‍याउन सक्षम छ भने भारतलाई त्यही काम गर्न एक साताभन्दा बढी समय लाग्ने अवस्था थियो । यही कमजोरी हटाउन भारतले उच्च हिमाली क्षेत्रमा पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको हो ।

यसैक्रममा निर्माणाधीन जोजिला सुरुङ भारतको महत्त्वाकांक्षी परियोजनामध्ये एक हो । करिब १५ किलोमिटर लामो यो सुरुङ ११ हजार ५ सय फिट उचाइमा निर्माण हुँदैछ । सन् २०२८ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको यस परियोजनामा करिब ७५० मिलियन डलर खर्च हुने अनुमान छ । सुरुङ सञ्चालनमा आएपछि श्रीनगर–लद्दाख यात्रा समय ३ घण्टाबाट घटेर करिब २० मिनेटमा झर्नेछ ।

भारतको रक्षा मन्त्रालयअन्तर्गत बोर्डर रोड्स अर्गनाइजेसनको बजेट सन् २०२० को तुलनामा तीन गुणाभन्दा बढी वृद्धि गरिएको छ । सीमावर्ती क्षेत्रमा हजारौँ माइल सडक, ३० भन्दा बढी हेलिप्याड तथा नयाँ हवाई बेस निर्माण गरिएको छ । भारतले लद्दाखमा १४ हजार फिट उचाइमा नयाँ वायुसेना बेससमेत स्थापना गरेको छ ।

विश्लेषकहरूका अनुसार भारत अब हिमालयलाई मात्र प्राकृतिक सुरक्षा कवच मान्ने रणनीतिबाट अघि बढेर सक्रिय सैन्य पूर्वाधार निर्माणतर्फ उन्मुख भएको देखिन्छ ।

प्रकाशित मिति: २०८२ पुष १६, मंगलवार १२:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको