कृषि तथा पशुपन्छी विकासमन्त्री परियारको १०० दिनको कार्यसम्पादन



काठमाडौं, पुस १५ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले आफ्नो कार्यकालका १०० दिनमा गरेका मुख्य कार्यहरूको सूची सार्वजनिक गरेका छन् । मन्त्री परियारका अनुसार कृषि, पशुपन्छीजन्य उत्पादन प्रवर्द्धन, बजारीकरण, प्रविधि प्रसारण र अनुसन्धानसँग सम्बन्धित नीतिगत तथा व्यवस्थापकीय सुधारहरूमा उल्लेखनीय प्रगति भएको छ ।

मन्त्री परियारले देशभरका किसानसँग खेतबारीमै भेटघाट तथा छलफलमार्फत समस्या पहिचान गरी कतिपय समस्याको तत्काल समाधान गरिएको जानकारी दिएका छन् । उनले मलखाद आपूर्ति, भुक्तानी व्यवस्थापन, बजार सुधार र नीतिगत सुधारलाई प्राथमिकतामा राखेका छन् ।

उखुको मूल्य निर्धारण यसपटक समयमै टुंगो लाग्दै न्यूनतम मूल्य ६२० रुपैयाँ तोकिएको छ, ७० रुपैयाँ अनुदान थप गरी किसानलाई कुल ६९० रुपैयाँ सुनिश्चित गरिएको छ । उद्योगी–किसान विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरिएको छ ।

दुग्ध किसानको भुक्तानीमा पनि प्रगति भएको छ, डीडीसीले ८१ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ भने निजी डेरीहरूले साढे २ अर्ब ऋण घटाएर १ अर्बमा झारेका छन् । मलको आपूर्ति पारदर्शी बनाउन ‘अनलाइन ट्र्याकिङ पोर्टल’ सञ्चालनमा आएको छ, जसबाट किसानले आफ्नै पालिकामा मलको मौज्दात जाँच गर्न सक्नेछन् ।

माछा, च्याउ र केरा खेतीमा विशेष प्राथमिकता दिइएको छ । करिब १।७ करोड माछाका भुरा वितरण गरिएको छ भने पुस १५ लाई ‘राष्ट्रिय च्याउ दिवस’का रूपमा मनाउने निर्णय गरिएको छ । स्वदेशी केरालाई प्रवर्द्धन गर्दै आयात रोक्ने नीति लागू गरिएको छ ।

पशुपन्छी सुरक्षाका लागि ३६ लाख डोज खोप वितरण, कृत्रिम गर्भाधानमा तरल नाइट्रोजन र वीर्यको व्यवस्थापन गरिएको छ । कालीमाटी तरकारी बजार सुधार तथा चोभारका संरचनाहरू प्रयोगमा ल्याउने काम अघि बढाइएको छ ।

अब बाली–पशुपन्छी बीमा र दाना दर्ता प्रक्रियाहरू पूर्ण डिजिटल माध्यमबाट सञ्चालन हुने भएपछि बिचौलियाको अन्त्य र सेवा चुस्त हुने अपेक्षा गरिएको छ ।

मन्त्री परियार अन्तर्राष्ट्रिय मञ्चमा पनि सक्रिय छन्, ब्राजिलको कोप–३०मा नेपालको जलवायु मुद्दा उठाउनुदेखि चीनसँग मासु र साइलेज निर्यात सम्झौता सम्पन्न गर्नेसम्म उनको नेतृत्व उल्लेखनीय रहेको छ।

प्रकाशित मिति: २०८२ पुष १६, मंगलवार १३:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको