जनकपुरधाम, पुस १८ । नेपाली कांग्रेसको महाधिवेशनसम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । निर्धारित समयमा नियमित महाधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्ने घोषणा गरेका छन् । उनीहरूले पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने तयारीसहित हलसमेत बुक गरिसकेका छन् ।
महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाउने निर्णयबारे सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बिहीबार जानकारी गराइसकेका छन् । शुक्रबार लिखित जानकारी गराउने तयारी रहेको र शनिबार विज्ञप्तिमार्फत औपचारिक घोषणा गरिने उनीहरूले बताएका छन् । यसैबीच विशेष महाधिवेशन पक्षधर नेताहरूले शुक्रबार पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।
विशेष महाधिवेशनको तयारी अघि बढेपछि सभापति देउवाले बिहीबार महामन्त्रीद्वयलाई छलफलमा बोलाए पनि अन्तिम समयमा छलफल स्थगित गरी निकटस्थ नेताहरूसँग आन्तरिक परामर्श थालेका छन् । महामन्त्रीद्वयको घोषणालगत्तै संस्थापन पक्षले शुक्रबार दिउँसो ३ बजेका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ । संस्थापन पक्षले पार्टीको संस्थागत निर्णयबिनै विशेष महाधिवेशन सम्भव नहुने प्रतिक्रिया दिएको छ ।
कांग्रेस नेता शेखर कोइरालाले केन्द्रीय कार्यसमितिको निर्णयबिनै बोलाइने भेलामा आफ्नो सहमति नहुने स्पष्ट पारेका छन् । उनले संस्थागत प्रक्रियाबिनाको कदमले पार्टी विभाजनको जोखिम निम्त्याउने चेतावनी दिएका छन् ।
यसअघि गत मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १६ देखि वडा अधिवेशन सुरु गरी पुस २६–२९ मा नियमित महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको थियो । तर वडा अधिवेशन सुरु हुन नसकेपछि निर्धारित समयमा नियमित महाधिवेशन नहुने अवस्था सिर्जना भएको छ । यही अवस्थालाई आधार मानेर महामन्त्रीद्वयले विधानअनुसार विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् ।
महामन्त्रीद्वयका अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराइसकेका छन् । कांग्रेस विधानको धारा १७९२० अनुसार यस्तो माग आएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार पुस २८ भित्र विशेष महाधिवेशन गर्नुपर्ने उनीहरूको दाबी छ ।
तर पार्टी प्रवक्ता प्रकाशशरण महतले संस्थागत निर्णयबिनै विशेष महाधिवेशनका नाममा भेला बोलाउँदा पार्टी कमजोर हुने र विभाजनको जोखिम बढ्ने चेतावनी दिएका छन् । निर्वाचनको संघारमा यस्तो कदम दुर्भाग्यपूर्ण हुने उनको भनाइ छ ।
महामन्त्री विश्वप्रकाश शर्माले भने विधानको पालना नै आफ्नो मुख्य दायित्व भएको बताएका छन् । उनले विशेष महाधिवेशनले पार्टी विभाजन नभई अझ सशक्त हुने दाबी गरेका छन् । कांग्रेस नेता गुरुराज घिमिरे र सुवास पोखरेलले पनि विधानअनुसार विशेष महाधिवेशन आवश्यक भएको धारणा राखेका छन् ।
यसैबीच त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले महामन्त्रीद्वयको कदमलाई सही ठहर गर्दै समयअनुसार जोखिम लिनैपर्ने बताएका छन् । उनले यो पहलले कांग्रेसलाई दीर्घकालमा नयाँ दिशामा लैजाने विश्वास व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसभित्र महाधिवेशनलाई लिएर देखिएको विवादले पार्टीको आन्तरिक राजनीति थप तातिएको छ । आगामी दिनमा केन्द्रीय कार्यसमितिको निर्णय र नेताहरूको भूमिकाले कांग्रेसको भावी दिशा तय गर्ने देखिन्छ ।






