काठमाडौं ,पुस १८। निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न ७ दिनको समय दिएको छ। आयोगका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक तर्फ पेस गरिएका बन्दसूची सच्याउन पुस २१ देखि २७ गतेसम्मको समय तोकिएको हो।
राजनीतिक दलहरूले पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए। ती बन्दसूचीहरूको प्रारम्भिक छानबिनपछि आवश्यक सच्याउन तथा नाम फिर्ता लिन सकिने गरी पुस १५ गते दलहरूलाई औपचारिक रूपमा जानकारी गराइएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बन्दसूचीमा समावेश उम्मेदवारमध्ये नाम फिर्ता लिन चाहनेले पुस २८ गतेसम्म आयोगमा निवेदन दिन सक्नेछन्। पुस २९ गते आयोगले बन्दसूचीबाट नाम फिर्ता लिएको विवरण सम्बन्धित दलहरूलाई जानकारी गराउने कार्यतालिका रहेको छ।
नाम फिर्ता भएका स्थानमा सोही समूह वा क्लस्टरभित्रबाट अर्को उम्मेदवार मनोनयन गर्न दलहरूलाई समय दिइने आयोगले स्पष्ट पारेको छ। यसरी प्रतिस्थापन गरिएका उम्मेदवारको नामावली तोकिएको समयभित्र आयोगमा पेस गर्नुपर्नेछ।
आयोगको कार्यतालिकाअनुसार माघ ४ गते समानुपातिक उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। त्यसपछि माघ ५ देखि १० गतेसम्म बन्दसूचीमा समावेश उम्मेदवारहरूको योग्यता सम्बन्धमा दाबी–विरोधका निवेदन दिन सकिनेछ।
माघ ११ देखि १७ गतेसम्म प्राप्त उजुरीमाथि छानबिन गरी निर्णय गरिनेछ भने माघ १९ गते बन्दसूचीबाट हटाइएका उम्मेदवारको सूचना प्रकाशन गरिने आयोगले जनाएको छ। अन्ततः माघ २० गते समानुपातिक तर्फका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ।
निर्वाचन आयोगले तोकेको समयसीमा र प्रक्रिया पालना गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ।




