समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा



काठमाडौं , पुस १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका फुबल चितवन क्लब(एफसी चितवन) का अध्यक्ष सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा ढकालको नाम समावेश भएपछि चौतर्फी आलोचना र विरोध सुरु भएको थियो। सोही सन्दर्भमा उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिने निर्णय सार्वजनिक गरेका हुन्।

ढकालले आफ्नो निर्णय नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मानस्वरूप भएको बताएका छन्। “नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यतालाई सम्मान गर्दै यसपटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,” उनले फेसबुकमा लेखेका छन्।

युवाको सामूहिक नेतृत्वमा सुशासनसहित समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति आफू निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै ढकालले आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी बहन गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

उनले उद्यमशीलताको प्रवर्द्धनमार्फत सामाजिक रूपान्तरण र मुलुकको विकास सम्भव हुने धारणा राख्दै, त्यसका लागि नवयुवाहरू अघि बढिरहेको वर्तमान परिवेशमा पार्टी नेतृत्वले आफूलाई समानुपातिक बन्दसूचीमा समावेश गरेकोप्रति आभार व्यक्त गरेका छन्।

“सुशासनसहितको समुन्नत नेपाल निर्माणका लागि नवीन सोच, ऊर्जा र प्रतिबद्धतासहित नवयुवाहरूको सामूहिक प्रयासप्रति मेरो सदा साथ र सहयोग रहनेछ,” ढकालले उल्लेख गरेका छन्।

सचिन ढकाल व्यवसायी चन्द्र ढकालका छोरा हुन्। उनी स्वयं पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सक्रिय व्यवसायीका रूपमा चिनिन्छन्। रास्वपाको समानुपातिक सूचीमा उनको नाम परेपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा व्यापक बहस भएको थियो।

प्रकाशित मिति: २०८२ पुष २०, शनिवार १२:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको