कपिलवस्तु, पुस २० । प्राचीन कपिलवस्तु राज्यको राजधानी मानिने तिलौराकोट वरपरका पुरातात्त्विक महत्वका जग्गा अधिग्रहणका लागि मुआब्जा दर निर्धारण गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पुरातत्व विभागले तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्यसहित पुरातात्त्विक संरचना तथा वस्तु फेला परेका जग्गा स्थायी रूपमा अधिग्रहण गर्न प्रक्रिया अघि बढाएको हो।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार जग्गा प्राप्ति ऐन, २०३४ अनुसार गठित मुआब्जा निर्धारण समितिको बैठकले २०८२ साउन १५ गते मुआब्जा दर तोकेको हो। सो निर्णयअनुसार आज सार्वजनिक सूचना प्रकाशित गरिएको छ।
निर्णयअनुसार सहायक पिच सडकसँग जोडिएका जग्गाको मुआब्जा प्रतिकठ्ठा १८ लाख १६ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै, कृषियोग्य जग्गाको मुआब्जा प्रतिकठ्ठा ८ लाख ७६ हजार ७५० रुपैयाँ तोकिएको छ।
सूचनाअनुसार आर्थिक वर्ष २०८२र८३ मा अधिग्रहण गरिने जग्गाअन्तर्गत गोबरी ८ क। क्षेत्रका कित्ता नम्बर १२, १९, २१, २२, २४, ६४४, १७३१ र १७८८ रहेका छन्। यी सबै कृषियोग्य जग्गा हुन्।
यसैगरी मलपारा ४ क। क्षेत्रका कित्ता नम्बर १२, १३, १४, ३२, ३३, ३४, ३५, ३६, ३८, ४१, १२४७, १२४८, १५९०, १६८४, २३७३, २५४४ र २१ नम्बरका जग्गा पनि अधिग्रहण गरिने सूचनामा उल्लेख छ।
सहायक पिच बाटोले छोएका मलपारा १ ख। क्षेत्रको कित्ता नम्बर ६७६ ९घरसमेत० तथा मलपारा ४ क। क्षेत्रको कित्ता नम्बर १८४४ का जग्गा पनि अधिग्रहणमा पर्ने छन्।
सम्बन्धित जग्गाधनीले मुआब्जा दाबी गर्न नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, चालु आर्थिक वर्षसम्मको मालपोत तिरेको रसिद, जग्गाको हकभोगसम्बन्धी सक्कल कागजात तथा आवश्यक प्रमाणसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा निवेदन दिनुपर्ने जनाइएको छ।
तोकेको समयसीमाभित्र निवेदन नपरेमा कानुनबमोजिम थप प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले स्पष्ट पारेको छ।






