काठमाडौं ,पुस २० । बौद्ध चुच्चेपाटीस्थित लिनिङ स्टोर र ट्याक्सी चालकसँगको घटना अनुसन्धानमा नक्कली नोटको ठूलो कारोबार खुलेको छ । प्रहरीका अनुसार ९३ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको छ र यससँग संलग्न ६ जनालाई पक्राउ गरिएको छ ।
सिन्धुपाल्चोक घर भएका दावा नोर्बु शेर्पा ले शनिबार लिनिङ स्टोरमा जुत्ता र मोजा खरिद गर्दा नक्कली नोट प्रयोग गरेको भेटिएको थियो । पसलेले नोटमा फरक देखेर टिकटकमा भिडियो पोस्ट गरेपछि घटना सार्वजनिक भयो । प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोकाले बताएअनुसार भिडियो प्रहरी प्रधान कार्यालयमा पुगेपछि अनुसन्धान सुरु भएको हो ।
त्यसैबेला एक ट्याक्सी चालक प्रहरी वृत्त गौशालामा पुगे र भने, ‘मलाई भाडा तिर्ने क्रममा नक्कली नोट दिएका थिए।’ अनुसन्धानले ट्याक्सीमा प्रयोग भएको नोट र स्टोरमा भेटिएको नोट एउटै समूहसँग सम्बन्धित रहेको पत्ता लगायो ।
बौद्ध प्रहरीले पुस १६ मा सिन्धुपाल्चोक, मेलम्ची, चौतारा साँगाचोकगढी, बलेफी र काठमाडौँका ६ जनालाई गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट नियन्त्रणमा लियो । पक्राउ परेकामा दावा नोर्बु शेर्पा, पासाङ शेर्पा, प्रकाश गुरुङ, रेणुका भारती, गोकर्ण थापा र सुकबहादुर स्याङ्बो छन् ।
अनुसन्धानले उनीहरूले नक्कली नोट प्रयोग गरी रिचार्ज कार्ड समेत खरिद गरेको देखाएको छ । थप अनुसन्धानमा बाराका गौरीशंकर यादव पनि पक्राउ परेका छन्, जसले रक्सौलबाट नक्कली नोट ल्याएको स्वीकारेका छन् । यादवले बताएअनुसार भारतीय बजारबाट ल्याइएको ९ लाख रुपैयाँ बराबरको नोट पठाउने कार्य एक थापा दाइ नामक व्यक्तिको निर्देशनमा भएको हो ।
प्रहरीले पक्राउ परेकामाथि मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान जारी राखेको छ र नोटको आपूर्ति र प्रयोगको पूर्ण जालो पत्ता लगाउन खोजिरहेको छ ।




