काठमाडौं, पुस २० । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बयानका लागि पत्र पठाएको छ।
सार्वजनिक रूपमा बयान दिन नजाने भन्दै यसअघि नै प्रतिवाद गर्दै आएका ओलीलाई आयोगले औपचारिक रूपमा पत्राचार गरेको हो। आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ। लेखकको बयान सकिएपछि आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पनि बयानका लागि बोलाएको हो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले यसअघि तत्कालीन गृहमन्त्री, सुरक्षा निकायका प्रमुखहरू तथा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग पनि बयान लिइसकेको जनाएको छ।
सरकारले गत असोज ६ गते कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।
तीन महिनाको म्यादसहित गठन गरिएको आयोगले तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेपछि सरकारले एक महिना म्याद थप गरेको छ। आयोगले जेनजी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरिरहेको छ।
आयोगले आगामी दिनमा थप सरोकारवाला व्यक्तिहरूसँग पनि बयान लिने तयारी गरेको जनाएको छ।




