अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गरिने



काठमाडौं , पुस  २२ । सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका–२ मा पहिचान गरिएको ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना पूर्ण रूपमा स्वदेशी पूँजीमा निर्माण गरिने भएको छ । आयोजनाका लागि आवश्यक लगानी ढाँचा (मोडालिटी) तयार भइसकेको सम्बन्धित निकायले जनाएको छ ।

निर्माण अवधिको व्याजसमेत जोड्दा आयोजनाको अनुमानित लागत ९७ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । आयोजना सरकार तथा सरकारी निकायहरू संस्थापक रहेको विद्युत उत्पादन कम्पनी लिमिटेडले नै निर्माण गर्नेछ । कुल लागतको ७० प्रतिशत अर्थात करिब ६८ अर्ब ५५ करोड रुपैयाँ ऋणबाट र बाँकी ३० प्रतिशत अर्थात २९ अर्ब ३८ करोड रुपैयाँ स्वपूँजी ९इक्विटी०बाट जुटाइने वित्तीय मोडालिटी तयार गरिएको छ ।

ऋण व्यवस्थापनका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनी तथा बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरण गरिने प्रस्ताव गरिएको छ । इक्विटी रकम भने कम्पनीका संस्थापक, गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा, अतिविपन्न परिवारका सदस्य र सर्वसाधारणलाई शेयर निष्कासनमार्फत संकलन गरिनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले प्रस्तावित लगानी मोडालिटीबारे जानकारी लिँदै आयोजनाको लागत अद्यावधिक गरी तत्काल वित्तीय व्यवस्थापन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । विद्युत उत्पादन कम्पनीसँग अनुमतिपत्र भए पनि हालसम्म कुनै आयोजना निर्माणमा जान नसकेको उल्लेख गर्दै मन्त्री घिसिङले दीर्घकालीन आम्दानी र दिगोपनका लागि किमाथाङ्का अरुण आयोजना कम्पनी आफैंले निर्माण गर्नुपर्ने बताए ।

आयोजनाबाट वार्षिक २ अर्ब ६९ करोड युनिट विद्युत उत्पादन हुने अनुमान गरिएको छ । यसबाट वार्षिक करिब १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ । हालसम्म आयोजनाको अध्ययन तथा पूर्वनिर्माणमा ७३ करोड १४ लाख रुपैयाँ खर्च भइसकेको छ ।

प्रकाशित मिति: २०८२ पुष २३, मंगलवार १२:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको