लहानका ग्रामीण भेगका १० महिलामा पाठेघरको क्यान्सर पत्ता



लहान , पुस  २२ । लहान नगरपालिकाको ग्रामीण भेगका दस जना महिलामा पाठेघरको क्यान्सर पत्ता लागेको छ। नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको प्रजनन् स्वास्थ्य रुग्णता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविरमा यी महिलामा क्यान्सर पोजिटिभ देखिएको हो।

शिविर दक्षिण ग्रामीण क्षेत्र, वडा नम्बर २० र २१ का १४० जना महिलामा गरिएको थियो। स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर चौधरीका अनुसार, ३० वर्षमाथिका महिलाको भिआइए परीक्षण गर्दा आठ जनामा पहिलो चरणको र दुई जनामा तेस्रो चरणको क्यान्सर पाइएको छ। तेस्रो चरणमा रहेका दुबै महिलालाई भरतपुर क्यान्सर अस्पतालमा पठाइनेछ भने पहिलो चरणमा रहेका आठ जनाको स्थानीय स्तरमै उपचार गरिनेछ।

चौधरीले भने, “तीस वर्षमुनिका महिलामा पाठेघरको क्यान्सर नहुने खोप दिइएको भएकाले परीक्षण ३० वर्षमाथि मात्र गरिएको हो।”

गत वर्ष लहान नगरपालिकाको उत्तरी भेग, वडा नम्बर १७ (तरेगना गोविन्दपुर) र वडा नम्बर २४ (मलहना गोविन्दपुर) मा सञ्चालन गरिएको शिविरमा पनि पाँच जना पाठेघरको क्यान्सरका बिरामी फेला परेका थिए। सामुदायिक सेवा अधिकृत तेज कुमारी श्रेष्ठका अनुसार, स्वाब परीक्षणबाट क्यान्सर भएको भए कुन चरणमा पुगेको छ भन्ने जानकारी पत्ता लाग्छ।

नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले भने, “बेलैमा रोग पत्ता लागे ज्यान जोगाउन सकिन्छ। यस वर्ष र गत वर्ष गरी चार वडामा १५ जना बिरामी फेला परेपछि बाँकी २० वडामा पनि शिविर सञ्चालन गर्न थप बजेट विनियोजन गरिनेछ। एउटा वडामा शिविर सञ्चालन गर्न करिब ५० हजार रुपैयाँ आवश्यक देखिएको छ।”

शिविरले ग्रामीण क्षेत्रका महिलालाई समयमै परीक्षण र उपचारको पहुँच दिलाएर पाठेघरको क्यान्सरबाट जोगिन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष २३, मंगलवार १४:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको