वीरगन्ज , पुस २२ । पर्सा जिल्लामा धार्मिक तथा सामाजिक तनाव बढेपछि वीरगन्जमा लागू भएको कर्फ्यु मङ्गलबार साँझ ६ बजेसम्म लम्बाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्था मूल्याङ्कन गर्दै दोश्रो पटक कर्फ्युको अवधि थप गरेको हो।
सोमबार साँझ ६ बजेदेखि मङ्गलबार बिहान ८ बजेसम्म जारी कर्फ्यु, त्यसपछि दिउँसो १ बजेसम्म र अन्ततः साँझ ६ बजेसम्म पुर्याइएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, पूर्वमा बसपार्क, नगवा, इनर्वास पश्चिममा सिर्सिया नदीस उत्तरमा गण्डक चौकस र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा चार किल्ला तोकी कर्फ्यु आदेश जारी गरिएको छ।
कर्फ्यु आदेशअनुसार, सो क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, सभा, बैठक, प्रदर्शन वा घेराउ गर्न निषेध छ। अत्यावश्यक बाहेक घरबाहिर ननिस्किन सूचित गरिएको छ र सुरक्षा कारबाहीमा संलग्न सुरक्षाकर्मीले देख्नेबित्तिकै आवश्यक कदम चाल्न सक्नेछन्।
यस अवधिभर, अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षा सहजीकरण उपलब्ध हुनेछ।
प्रमुख जिल्ला अधिकारी दाहालले स्थानीयवासीहरूलाई सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र घरबाहिर निस्कन अनुरोध गरेका छन्। प्रशासनले यस कदममार्फत सम्भावित झडप र सामाजिक अशान्ति रोक्ने उद्देश्य राखेको छ।
वीरगन्जको घण्टाघर चोक र अन्य प्रमुख क्षेत्रहरू कर्फ्युको कारण सुनसान देखिएका छन्। प्रशासनले आवतजावतमा सतर्कता अपनाउन आम जनता सचेत रहन आवश्यक भएको जानकारी दिएको छ।




