विशेष महाधिवेशन पार्टी फुटाउन होइन, कांग्रेसमा ऊर्जा भर्न : महामन्त्री शर्मा



काठमाडौं, पुस २४ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभई शिथिल बनेको कांग्रेसलाई पुनःऊर्जावान बनाउन आयोजना गर्न लागिएको स्पष्ट पारेका छन्। बिहीबार बिहान सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले विधानअनुसार विशेष महाधिवेशनको माग गर्ने पार्टीभित्रका साथीहरूको मागप्रति दुवै महामन्त्री प्रतिबद्ध रहेको उल्लेख गर्दै सबैलाई सहभागिताका लागि आग्रह गरेका हुन्।

महामन्त्री शर्माले वर्तमान राष्ट्रिय अवस्था र पार्टीको आन्तरिक परिस्थिति दुवै संवेदनशील रहेको बताए। कांग्रेसलाई एकताबद्ध राख्दै नयाँ योजना र संकल्पसहित अघि बढ्न विशेष महाधिवेशन आवश्यक रहेको उनको भनाइ छ। उनले विशेष महाधिवेशनले पार्टी विभाजन गराउने होइन, बरु विधानको रक्षा गर्दै कांग्रेसलाई पुनः सक्रिय र सशक्त बनाउने बताए।

शर्माले विशेष महाधिवेशन संविधानसम्मत र वैधानिक प्रक्रिया अनुसार भएको जिकिर गर्दै विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा मात्र विशेष महाधिवेशन बोलाउन सकिने स्पष्ट पारे। उनले भने, ‘विशेष महाधिवेशनबाट कांग्रेस विभाजन हुन्छ भन्ने भ्रम फैलाइँदै छ, तर त्यस्तो हुनै सक्दैन। यदि पार्टी विभाजनतर्फ जान खोजियो भने म सबैभन्दा पहिले हलबाट बाहिर निस्कन्छु।’

उनका अनुसार भदौ २३ र २४ गतेपछिको राजनीतिक अवस्था विशेष बनेको छ र यही परिस्थितिलाई ध्यानमा राख्दै आगामी कार्यदिशा तय गर्न विशेष महाधिवेशन आवश्यक भएको हो। पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनमा ठूलो सहभागिता रहने विश्वास उनले व्यक्त गरे।

महामन्त्री शर्माले हस्ताक्षर नगरेका नेता तथा कार्यकर्तासमेत सहभागी हुन सक्ने स्पष्ट पार्दै यसले पार्टीभित्र विचार राख्ने, विमति जनाउने र बहस गर्ने अधिकारलाई थप संस्थागत गर्ने बताए। उनका शब्दमा, ‘मुर्च्छा परेको कांग्रेस होइन, ऊर्जा भएको कांग्रेसले देश र पार्टीका लागि नयाँ योजना बनाउने हो।’

प्रकाशित मिति: २०८२ पुष २५, बिहिवार ०८:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको