वासिङ्टन ,पुस २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघसँग सम्बन्धित निकायसहित ६६ वटा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट अमेरिका बाहिरिने निर्णय गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी) का अनुसार यो कदमलाई अमेरिका बहुपक्षीय तथा विश्वव्यापी सहकार्यबाट क्रमशः टाढिँदै गएको संकेतका रूपमा हेरिएको छ ।
ह्वाइट हाउसका अनुसार ती ६६ वटा अन्तर्राष्ट्रिय संस्था, एजेन्सी र आयोगप्रति अमेरिकी सहभागिता र आर्थिक समर्थन निलम्बन गरिनेछ । यसअघि ट्रम्प प्रशासनले संयुक्त राष्ट्रसंघसँग आबद्ध सबै अन्तर्राष्ट्रिय संस्थामा अमेरिकाको भूमिका र योगदानको समीक्षा गरेको थियो । सूचीमा परेका अधिकांश संस्थाहरू जलवायु परिवर्तन, श्रम, आप्रवासन, मानवअधिकारलगायत विषयमा काम गर्दै आएका यूएनसम्बद्ध निकाय हुन् ।
ट्रम्प प्रशासनको दाबी अनुसार ती संस्थाहरूले अमेरिकी राष्ट्रिय हितभन्दा फरक एजेन्डामा ध्यान केन्द्रित गरेका छन् । यूएन बाहिरका संस्थामध्ये एटलान्टिक सहकार्य साझेदारी, अन्तर्राष्ट्रिय लोकतन्त्र तथा निर्वाचन सहायता संस्था र अन्तर्राष्ट्रिय प्रतिआतंकवादसम्बन्धी फोरम पनि अमेरिकी बहिर्गमनको सूचीमा परेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले ती संस्थाहरूलाई दोहोरो काम गर्ने, खर्चिला, कमजोर व्यवस्थापन भएका र अमेरिकी सार्वभौमिकताका लागि खतरा भएको आरोप लगाएका छन् । यसअघि नै अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), यूएन मानवअधिकार परिषद्, यूनेस्को र प्यालेस्टिनी शरणार्थीसम्बन्धी यूएन एजेन्सी (युएनआरडब्लुए) बाट समर्थन फिर्ता गरिसकेको छ ।
पछिल्लो निर्णयअनुसार अमेरिका संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन रूपरेखा महासन्धि (यूएनएफसीसीसी) बाट पनि बाहिरिने भएको छ । यही सन्धिको आधारमा पेरिस जलवायु सम्झौता बनेको थियो, जसबाट ट्रम्पले पहिल्यै अमेरिका हटाइसकेका छन् । विज्ञहरूले यस कदमले जलवायु संकट न्यूनीकरणका विश्वव्यापी प्रयास कमजोर हुने चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय संकट समूहका यूएन मामिला प्रमुख ड्यानियल फोर्टीले यसलाई अमेरिकाको ‘एकलकाटे’ बहुपक्षीय दृष्टिकोण भनेका छन् । उनका अनुसार अब अन्तर्राष्ट्रिय सहकार्य वाशिङ्टनका सर्तमा मात्र सीमित हुने संकेत देखिएको छ ।




