काठमाडौं, पुस २५ । नेपाली कांग्रेसका संस्थापन पक्षीय २५ जना केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनको माग गर्दै लिखित निवेदन दर्ता गराएका महाधिवेशन प्रतिनिधिहरूको मतको सम्मान गर्न पार्टी नेतृत्वलाई अपिल गरेका छन्। उनीहरूले संवाद र सहमतिका माध्यमबाट पार्टीभित्र एकता कायम गर्दै परिणाममुखी वातावरण निर्माण गर्न आग्रह गरेका हुन्।
ललितपुरको कुपण्डोलमा शुक्रबार बिहान भएको छलफलपछि जारी गरिएको विज्ञप्तिमा विशेष महाधिवेशनको मागलाई बेवास्ता नगरी जिम्मेवार ढंगले सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको मागसहित लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ। यस्तो अवस्थामा माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं।”
उक्त समूहले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पार्टीलाई थप विश्वसनीय र भरोसायोग्य बनाउनु अपरिहार्य रहेको उल्लेख गरेको छ। परिवर्तन र रूपान्तरणका मुद्दालाई आत्मसात गर्दै नयाँ सोच र स्पष्ट दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने आवश्यकता रहेको उनीहरूको निष्कर्ष छ। पार्टीभित्र देखिएका असन्तुष्टि र मतभेदलाई संवादबाट समाधान गरी बृहत् एकतासहित निर्वाचनमा जाने वातावरण बनाउनु नेतृत्वको दायित्व भएको उनीहरूले बताएका छन्।
यसअघि पनि यो समूहले निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने पक्षमा ‘लबिङ’ गर्दै आएको थियो। सोही क्रममा २२ पुसमा नेता डा। शेखर कोइरालासँग छलफल गरिएको थियो भने १८ पुसमा सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग समेत भेटघाट भएको थियो।
१५औँ महाधिवेशनको कार्यतालिकाबारे पार्टीभित्र बहस चलिरहेका बेला २५ केन्द्रीय सदस्यहरूको यो अपिललाई कांग्रेसभित्रको आन्तरिक बहस र आगामी राजनीतिक दिशा निर्धारणका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।






