माघ २ देखि निर्वाचन आचारसंहिता लागू हुने तयारी



काठमाडौं, पुस  २५ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। आयोगले आचारसंहिताबारे सरकारले जानकारी पाउने व्यवस्था मिलाउन लागेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहितका आयुक्तहरूले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर आचारसंहिता लागू हुने मितिबारे जानकारी गराउने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए। आयोगको टोलीसँग भेट ३ बजे हुने छ।

निर्वाचन आचारसंहिता लागू भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा र बजेट विनियोजन जस्ता काम गर्न आयोगको परामर्श लिनुपर्ने व्यवस्था लागू हुनेछ। आचारसंहिता लागू भएसँगै सरकारी गतिविधिमा हस्तक्षेप रोक्ने र समान अवसर सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।

आयोगले पुस ३० गते दलहरूलाई आचारसंहितामा हस्ताक्षर गराउने तयारी गरेको छ। दलका प्रतिनिधिले हस्ताक्षर गरेपछि आयोगले कडाइका साथ आचारसंहिता पालना गराउने छ।

माघ २ गते देशभर १६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय स्थापना हुनेछन्। त्यस्तै, माघ ६ गते प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता सुरु हुने छ।

निर्वाचन आयोगले पुस १२ गते नै आचारसंहिता स्वीकृत गरिसकेको छ। यसमा पहिलोपटक दलहरूले निर्वाचन आयोगमा आफ्नो घोषणापत्र पेश गर्नुपर्ने व्यवस्था राखिएको छ। साथै कृत्रिम बुद्धिमत्ता ९ब्क्ष्० प्रविधि प्रयोग गरेर प्रचार–प्रसार गर्ने कामको निगरानी गरिने व्यवस्था पनि गरिएको छ।

आयोगको यो कदमले स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष २६, शुक्रवार १४:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको