काठमाडौं , पुस २५ । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले अत्यधिक दुर्घटना हुने २९ ठाउँलाई ‘ब्ल्याक स्पट’ घोषणा गरेको छ। उपत्यकाका यी स्थानमा हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिकले विशेष ध्यान दिने योजना ल्याएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीका अनुसार, पछिल्ला वर्षका दुर्घटना तथ्यांकका आधारमा कोटेश्वर, सातदोबाटो, भक्तपुर, जावलाखेल, काँडाघारी, कलंकी, महाराजगञ्ज, नयाँ बसपार्क, बल्खु, गौशाला, स्वयम्भू, सानेपा, सिंहदरबार, गट्ठाघर, बौद्ध लगायत स्थानलाई ब्ल्याक स्पटको रूपमा तोकिएको हो।
ट्राफिकले कोटेश्वर–बालकुमारीमा २९, कोटेश्वर–जडिबुटीमा ३१, मनिभैरव–बानेश्वरमा २६, सातदोबाटो–एकान्तकुनामा १९, जावलाखेल–नख्खुमा २४ र कलंकी–एमाले पार्टी कार्यालयमा २२ दुर्घटना भएको तथ्यांक सार्वजनिक गरेको छ।
यी ब्ल्याक स्पटहरूमा सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन ट्राफिकले अनुरोध गरेको छ। साथै, सुधार र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह–२०८२ सुरु गरिएको छ, जुन २ माघसम्म चल्नेछ। कार्यक्रमअन्तर्गत जनचेतनामूलक वृत्तचित्र प्रदर्शन, राइड सेयर एप चालकको तालिम, सार्वजनिक सवारीमा जीपीएस र सीसी क्यामेरा जस्ता उपाय समावेश छन्।
एसएसपी अधिकारीले भने, “विविध कारणले दुर्घटना हुने र जनधनको क्षति हुने क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह आयोजना गरिएको हो। चालक र पैदल यात्रु दुवैलाई जागरूक बनाउने कार्यमा जोड दिइएको छ।”
ट्राफिक सप्ताह र ब्ल्याक स्पट पहिचान कार्यक्रमले उपत्यकामा बढ्दो सवारी दुर्घटनाको रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।




