राष्ट्रपति पौडेलसँग कांग्रेस सभापति देउवाको भेट, विशेष महाधिवेशनबारे छलफलको अनुमान



काठमाडौँ , पुस  २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। शनिबार दिउँसो भएको उक्त भेटलाई कांग्रेसभित्र चलिरहेको विशेष महाधिवेशनसम्बन्धी विवादसँग जोडेर हेरिएको छ।

सभापति देउवा आफ्नै निवास महाराजगन्जमा पार्टीभित्रको इतर समूहका नेता डा। शेखर कोइरालासँग छलफल गरिरहेका बेला भेटघाट छोट्याएर राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्। यस घटनाले कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि थप चासोको विषय बनेको छ।

यद्यपि भेटको औपचारिक एजेन्डाबारे सार्वजनिक रूपमा केही खुलाइएको छैन। तर कांग्रेसभित्र विशेष महाधिवेशनको माग, समय र प्रक्रियालाई लिएर तीव्र मतभेद देखिएको सन्दर्भमा सभापति देउवाले समाधानका उपायबारे राष्ट्रपति पौडेलसँग परामर्श गरेको अनुमान गरिएको छ।

राष्ट्रपति पौडेल स्वयं पनि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुअघि नेपाली कांग्रेसका वरिष्ठ नेता रहेकाले पार्टीको आन्तरिक संरचना र विवादबारे राम्रो जानकारी रहेको नेताहरू बताउँछन्।

यही कारण देउवाले राजनीतिक र नैतिक मार्गदर्शनका लागि राष्ट्रपति पौडेलसँग छलफल गरेको हुनसक्ने निकट स्रोतको भनाइ छ। कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर बढ्दो दबाब र असन्तुष्टिका बीच सभापति देउवाको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

प्रकाशित मिति: २०८२ पुष २७, शनिवार १२:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको