श्याम कुमार ठाकुर
सिरहा, पुस २६ । मिर्चैया नगरपालिका–स्थित श्री मोहन उच्च माध्यमिक विद्यालय (हाल मोहन उ.मा.वि.) परिसरमा रहेको श्री श्री १००८ दामोदरानन्द ब्रह्मचारी बाबा समाधि तथा संग्रहालय गम्भीर उपेक्षाको चपेटामा परेका कारण जीर्ण बन्दै गएको छ। मिर्चैया बाबाको नाममा समर्पित यो संग्रहालय मिर्चैयाको ऐतिहासिक, शैक्षिक तथा सांस्कृतिक पहिचानको महत्वपूर्ण प्रतीक मानिन्छ।
वि.सं. २०६३ सालमा स्थापना गरिएको उक्त संग्रहालय वि.सं. १८३० माघ संक्रान्तिमा जन्मनु भएका परम् आदरणीय दामोदरानन्द ब्रह्मचारी बाबाको स्मृति र योगदानलाई जोगाइराख्ने उद्देश्यले निर्माण गरिएको हो। निःस्वार्थ भावनाले नेपाल, भारत तथा पाकिस्तानका विभिन्न भू–भागमा चन्दा संकलन गर्दै विद्यालय, कलेज तथा विश्वविद्यालय स्थापना गर्नु भएका बाबाले वि.सं. २००४ सालमा श्री मोहन उच्च माध्यमिक विद्यालय, रामनगर मिर्चैया स्थापना गर्नुभएको थियो, जुन आज पनि शिक्षा क्षेत्रको ऐतिहासिक धरोहरका रूपमा चिनिन्छ।
स्थानीय दाताहरूको सहयोगमा प्राप्त बहुमूल्य जग्गा–जमिन र चन्दाबाट स्थापना गरिएको उक्त विद्यालयको नाममा तत्कालीन समयमा धेरै बिघा मूल्यवान जग्गा दर्ता गरिएको थियो। मिर्चैयालाई “१२ बिघा” भनेर चिनाउने ऐतिहासिक पहिचान पनि यही आधारमा विकास भएको बताइन्छ। तर वर्तमान अवस्था हेर्दा ती जग्गा अधिकांश कागजी अभिलेखमै सीमित देखिन्छन्, जसले विद्यालय र संग्रहालयप्रतिको दीर्घकालीन लापरवाहीलाई उजागर गर्दछ।
संग्रहालयभित्र सुरक्षित गरिनुपर्ने ऐतिहासिक सामग्री, दस्तावेज तथा अवशेषहरू हाल जीर्ण, अव्यवस्थित र संरक्षणविहीन अवस्थामा पुगेका छन्। विद्यालय परिसरमा रहेको ऐतिहासिक महत्व बोकेको पुरानो संरचना हटाइए पनि त्यसको सट्टा कुनै स्पष्ट र दीर्घकालीन विकास योजना कार्यान्वयन हुन नसक्नु थप चिन्ताको विषय बनेको छ।
वर्षमा एकपटक माघ १ गते दामोदरानन्द ब्रह्मचारी बाबाको जन्मोत्सव औपचारिक रूपमा मनाइने गरे पनि संग्रहालय संरक्षण केवल कर्मकाण्डमा सीमित भएको स्थानीयवासीहरूको गुनासो छ। समाज र शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याएका व्यक्तित्वको स्मृतिस्थल यसरी उपेक्षित हुनु मिर्चैयाकै लागि गम्भीर लज्जा र चिन्ताको विषय बनेको छ।
इतिहास, शिक्षा र सांस्कृतिक पहिचान बोकेको यो धरोहरप्रति सम्बन्धित निकाय, स्थानीय सरकार तथा सरोकारवाला पक्षको समयमै ध्यान नपुगेमा मिर्चैयाको अमूल्य ऐतिहासिक सम्पदा सधैंका लागि हराउने खतरा बढ्दै गएको छ। अब ढिलाइ नगरी दामोदरानन्द ब्रह्मचारी बाबाको योगदानको सम्मान गर्दै संग्रहालय तथा विद्यालय सम्पत्तिको संरक्षण, व्यवस्थापन र दीर्घकालीन विकास योजना तत्काल कार्यान्वयन गर्नुपर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ।






