जेनजी आन्दोलनपछि संविधान नै लिकबाहिर गयोः सभामुख घिमिरे



काठमाडौं , पुस २९ । सभामुख देवराज घिमिरेले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देशको संविधान नै लिकभन्दा बाहिर गएको बताएका छन्।

झापा–२ मा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले जेनजी आन्दोलन र त्यसपछिको विध्वंसले मानवीय क्षतिसँगै खर्बौँ रुपैयाँ बराबरका सरकारी तथा निजी भौतिक संरचना ध्वस्त हुनुका साथै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासमेत प्रभावित भएको बताए।

उनले भने, “यो विषम परिस्थितिमा संविधानलाई पुनः लिकमा ल्याएर अघि बढाउनु हामी सबैको साझा दायित्व हो। यसका लागि हाल दुईवटा विकल्प हाम्रो सामु छन्—पहिलो, संसद् पुनर्स्थापना गरी आन्दोलनकारीका जायज मागहरू कानुन संशोधनमार्फत सम्बोधन गर्दै निर्वाचनमा जाने, र दोस्रो, तत्काल निर्वाचनमा गएर नयाँ जनादेश लिने।”

यी दुई विकल्पमध्ये पहिलो विकल्प उपयुक्त हुने आफ्नो धारणा रहेको उल्लेख गर्दै उनले सो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले छिटो फैसला हुने अपेक्षा व्यक्त गरे।

सभामुख घिमिरेले सरकारले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा निर्वाचन हुन्छ वा हुँदैन भन्ने अन्योल रहे पनि कानुन र कार्यतालिकाअनुसार तयारी अघि बढाउनैपर्ने अवस्था रहेको बताए। उनले थपे, “कार्यतालिका अनुसार सभामुखको कार्यकाल आगामी माघ ५ गते, अर्थात् अर्को निर्वाचनका लागि मनोनयन दर्ता हुने अघिल्लो दिन समाप्त हुन्छ। यदि निर्वाचन भएन भने के हुन्छ भन्ने विषयमा कानुनमा स्पष्ट व्यवस्था छैन।”

आफ्नो छोटो कार्यकालमा पाँचवटा फरक–फरक सरकारसँग काम गर्नुपरेको उल्लेख गर्दै सभामुख घिमिरेले त्यसले आफूलाई खुसी नलागेको समेत बताए।

प्रकाशित मिति: २०८२ पुष ३०, मंगलवार १५:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको