श्यामकुमार ठाकुर
सिरहा, माघ २ । मिर्चैया नगरपालिकाका नगरवासीले विभिन्न ११ बुँदे मागसहित नगर प्रमुखसँग छलफल गरी सहमति जनाएका छन्। भेटघाटका क्रममा नगरवासीका प्रतिनिधिहरूले नगरको समग्र विकास, सेवा–सुविधा विस्तार तथा सुरक्षा व्यवस्थापनसँग सम्बन्धित मागहरू राखेका थिए। नगर प्रमुखले ती मागहरूलाई चरणबद्ध रूपमा छिटोभन्दा छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नगरवासीले प्रस्तुत गरेका प्रमुख मागहरूमा मिर्चैया नगरपालिकाको प्रशासनिक भवन निर्माण, पिच सडक निर्माण अन्तर्गत थाना चोक–कञ्चनपुरसम्म तथा मिर्चैया नगरपालिका–बार्हविगहा हुँदै कल्याणपुरसम्मको सडक खण्ड स्तरोन्नति प्रमुख रहेका छन्। साथै मिर्चैया गुदरी बजार व्यवस्थापनका लागि समिति गठन गरी व्यवस्थित बजार सञ्चालन गर्न माग गरिएको छ।
यसैगरी फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउने, सार्वजनिक शौचालयको व्यवस्थापन तथा आवश्यक स्थानमा नयाँ शौचालय निर्माण, सिटी रिक्सा व्यवस्थापन तथा भाडादर निर्धारण जस्ता नागरिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयहरू पनि मागसूचीमा समेटिएका छन्।
यातायात र शहरी पूर्वाधारको विकासका लागि नगर बस सञ्चालन, रिङरोड तथा बस पार्क निर्माण, साथै राजमार्गमा यात्रुको सुरक्षाका लागि आवश्यक स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने माग राखिएको छ।
सुरक्षा पक्षतर्फ चोरी, डकैती तथा लागुऔषध नियन्त्रणलाई कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिइएको छ। स्वास्थ्य सेवाको सुदृढीकरणका लागि रेडक्रस भवनबाट ब्लड बैंक सञ्चालन र नगरको पहिचान तथा आर्थिक विकासका लागि पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्द्धन गर्नुपर्ने माग पनि नगरवासीले अघि सारेका छन्।
नगर प्रमुखले नगरवासीका मागहरू जायज र नगर विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक प्रक्रिया पूरा गरी प्राथमिकताका आधारमा कार्यान्वयन गरिने विश्वास दिलाउनुभयो। उक्त सहमतिले मिर्चैयाको पूर्वाधार, सेवा र सुरक्षामा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।






