काठमाडौँ, माघ २ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद छिटो टुंग्याउन निर्वाचन आयोगमाथि समयको तीव्र दबाब परेको छ । कांग्रेसका दुवै पक्षका नेता–कार्यकर्ता एकपछि अर्को गर्दै आयोग पुगेर दबाब बढाइरहेका छन् ।
ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गराउने र भेटघाट गर्ने क्रममा दुवै पक्षले आयोगका पदाधिकारीसँग निरन्तर सम्पर्क गरिरहेका छन् । यसका कारण आयोगलाई नियमित निर्वाचनसम्बन्धी कामसमेत प्रभावित हुने अवस्था आएको स्रोतले जनाएको छ ।
चौतर्फी दबाबकै बीच निर्वाचन आयोगले सक्दो छिटो निर्णय सुनाउने तयारी गरिरहेको जनाएको छ । भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएलगत्तै गगन–विश्व समूहले निर्वाचन आयोगमा आफूहरूको विशेष महाधिवेशन भइरहेको जानकारी गराएको थियो ।
त्यसको प्रतिवादमा शेरबहादुर देउवा समूहले भृकुटीमण्डपमा कुनै विशेष महाधिवेशन नभएको भन्दै आयोगमा पत्र पठाएको थियो ।
महाधिवेशन सम्पन्न भएपछि देउवा र गगन–विश्व दुवै समूहले आ–आफ्ना निर्णयहरू अभिलेख अद्यावधिक गर्न भन्दै निवेदनसहित फाइल आयोगमा बुझाएका छन् । त्यसको भोलिपल्ट शुक्रबार बिहान देउवा पक्षले विशेष महाधिवेशनमा हस्ताक्षर फिर्ता लिएको दाबी गर्दै करिब पाँच सय जनाको नामसूची आयोगमा बुझाएको छ ।
देउवा पक्षबाट आयोगमाथि अप्रत्यक्ष धम्की र दबाब आएको निष्कर्षसहित गगन–विश्व समूह पनि आयोग पुगेको बताइएको छ ।
निर्वाचन आयोगसम्बद्ध एक स्रोतका अनुसार, “आयोग परिसरमा देखिएका गतिविधि त भए नै, नदेखिएका फोनकल र अन्य दबाब कति छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । आयोगका पदाधिकारीहरू अत्यन्त दबाबपूर्ण अवस्थामा छन् ।”
स्रोतका अनुसार, सम्भव भएसम्म शुक्रबार अपराह्नमै, नत्र शनिबारसम्म आयोगले कुनै न कुनै निर्णय गर्न सक्ने सम्भावना छ । “सोमबार सार्वजनिक बिदा र मंगलबार देशव्यापी मनोनयन कार्यक्रम भएकाले पनि आयोगलाई तत्काल निर्णय दिनुपर्ने दबाब छ,” स्रोतले भन्यो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग अहिले राजनीतिक दलहरूसँग छलफलमा केन्द्रित रहेको जानकारी दिनुभयो ।
“अझै केही भेटघाट र छलफल बाँकी छन्,” उहाँले भन्नुभयो, “त्यसपछि आयोगको बैठक बस्ने सम्भावना हुन्छ । आजै के हुन्छ भन्ने यकिन गर्न सकिँदैन, तर ढिलोसम्ममा केही न केही जानकारी आउला ।”




