कांग्रेस देउवा समूह आधिकारिकता दाबी गर्दै आज सर्वोच्च जाने



काठमाडौं, माघ ४ । नेपाली कांग्रेसको आन्तरिक विवादले नयाँ मोड लिएको छ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ ।

देउवासमूका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवा समूहले आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी गरेको छ । “हामी आज रिट लिएर सर्वोच्च जान्छौं,” उनले बताए ।



शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक तथा कानुनी दुवै ढंगले प्रतिवाद गर्ने निर्णय गरेको थियो । कानुनी प्रक्रियाको जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।

खड्का हाल वरिष्ठ कानुन व्यवसायीहरूसँग छलफल गरी रिट तयार पार्ने कार्यमा जुटेका छन् । स्रोतका अनुसार वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायत कानुन व्यवसायीहरूले यसमा सहयोग गरिरहेका छन् ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरेको थियो, जसमा गगन थापा सभापतिमा निर्वाचित भएका छन् । सोही आधारमा निर्वाचन आयोगले उक्त कार्यसमितिलाई मान्यता दिएको हो ।

तर देउवा पक्षले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नभएको दाबी गर्दै आएको छ । देउवा समूहले विशेष महाधिवेशनलाई असंवैधानिक र पार्टी विधानविपरीत भएको बताउँदै आएको छ ।

सर्वोच्च अदालतमा दायर हुने रिटपछि कांग्रेसको आधिकारिकता विवाद थप कानुनी र राजनीतिक बहसको केन्द्रमा आउने निश्चित देखिएको छ ।

प्रकाशित मिति: २०८२ माघ ४, आईतवार ०९:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको