शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रामा ‘ब्रेक’



जनकपुरधाम, माघ ६ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका छन्। यससँगै २०४८ सालदेखि सुरु भएको उनको निरन्तर संसदीय यात्रामा औपचारिक विराम लागेको छ।

देउवाको सचिवालयले सोमबार उक्त जानकारी सार्वजनिक गरेको हो। स्वकीय सचिव भानु देउवाका अनुसार, “देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने निर्णयमा पुग्नुभएको छ।”



२०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ साल वैशाख २९ गते सम्पन्न निर्वाचनमा देउवा पहिलो पटक डडेल्धुराबाट निर्वाचित भए। गिरिजाप्रसाद कोइरालाको सरकारमा गृहमन्त्री बनेका उनी २०५१ सालको मध्यावधि निर्वाचनमा पुनः निर्वाचित भए र २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बने।

२०५६ सालको निर्वाचनपछि २०५८ सालमा दोस्रो पटक प्रधानमन्त्री बनेका देउवाले कांग्रेसभित्रको विवादका बीच २०५९ सालमा प्रतिनिधि सभा विघटन गरे, जसले पार्टी विभाजनसमेत निम्त्यायो। सशस्त्र द्वन्द्वकालमा राजा ज्ञानेन्द्रद्वारा पदच्युत भए पनि २०६१ सालमा पुनः प्रधानमन्त्री बने।

२०६२र६३ को जनआन्दोलनपछि २०६४ र २०७० सालका संविधान सभा निर्वाचनमा उनी दुई–दुई क्षेत्रबाट विजयी भए। नयाँ संविधान जारी भएपछि २०७४ साल जेठमा देउवा चौथो पटक प्रधानमन्त्री बने भने २०७८ साल असारमा पाँचौं पटक सरकारको नेतृत्व सम्हाले।

२०७४ र २०७९ सालका प्रतिनिधि सभा निर्वाचनमा पनि डडेल्धुराबाट विजयी भएका देउवा सात पटकसम्म संसद्‌मा निर्वाचित हुने नेतामध्ये पर्छन्। तर यसपटक कांग्रेसभित्रको आन्तरिक विवाद र नेतृत्व परिवर्तनको असरस्वरूप उनले निर्वाचनमा नलड्ने निर्णय लिएका छन्।

यसपटक उनकी पत्नी आरजु देउवालाई पनि कांग्रेसले उम्मेदवार बनाएको छैन। २००३ सालमा डडेल्धुराको रुवाखोलामा जन्मिएका देउवा २०१७ सालदेखि राजनीतिमा सक्रिय छन् र २०७२ सालदेखि नेपाली कांग्रेसको सभापति रहेका छन्।

प्रकाशित मिति: २०८२ माघ ६, मंगलवार ०७:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको