धनुषा–३ मा हेभीवेट प्रतिस्पर्धा, नयाँ उम्मेदवार जीत निकाल्ने दाउमा



जनकपुरधाम, माघ १० । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धा दिनानुदिन थप रोचक बन्दै गएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद जुली महतोबीचको टक्करलाई राजनीतिक वृत्तमा ‘हेभीवेट प्रतिस्पर्धा’का रूपमा हेरिएको छ ।

दुबै नेताले अघिल्ला निर्वाचनहरूमा यही क्षेत्रबाट विजय हासिल गरिसकेका छन् । अनुभवी र स्थापित नेताबीचको यस प्रतिस्पर्धाले धनुषा–३ लाई यसपटक मधेश प्रदेशको चर्चित क्षेत्र मध्ये एक चासोको निर्वाचन क्षेत्र बनाएको छ ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका विमलेन्द्र निधि लामो समयदेखि लोकतान्त्रि राजनीतिका पक्षधर नेताका रूपमा स्थापित छन । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका निधि विगतमा क्षेत्रमा गरेका विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै मतदाताको घरदैलोमा पुगिरहेका छन् । कांग्रेसको परम्परागत संगठन, स्थानीय कार्यकर्ता र लोकतन्त्रप्रतिको राजनीतिक प्रतिबद्धता उनको बलियो पक्ष मानिन्छ ।

उता नेकपा एमालेका उम्मेदवार जुली महतो निवर्तमान सांसद हुन् । उनले आफ्नो कार्यकालमा पूर्वाधार विकास, सडक, खानेपानी र सामाजिक योजनामा योगदान दिएको दाबी गर्दै आएका छन् । एमालेको संगठित पार्टी संरचना, केन्द्र सरकारसँगको पहुँच र विकासमुखी नारालाई आधार बनाएर महतो चुनावी मैदानमा उत्रिएका छन् ।

तर प्रतिस्पर्धा यी दुई नेतामा मात्र सीमित छैन । नयाँ र वैकल्पिक राजनीतिक धारका उम्मेदवारहरूले चुनावी समीकरणलाई थप चासोपूर्ण बनाएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट परमेश्वर साह, राष्ट्रिय मुक्ति पार्टीबाट डा. राजीव झा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रवक्ता मनिष झा उम्मेदवार बनेपछि मत विभाजनको सम्भावना बढेको विश्लेषकहरू बताउँछन् ।

जसपा नेपालका परमेश्वर साह मधेश केन्द्रित मुद्दा, संघीयताको कार्यान्वयन र अधिकार प्राप्तिको सवाल उठाउँदै मैदानमा छन् । जसपा नेपाल र लोसपा नेपालको एकीकरण पछि बनेको जसपा नेपालबाट उम्मेदवारी दिएका साह मधेश मुद्दाका बाँकी एजेण्डा, मधेश प्रदेश सरकारले विगतमा संघीयता कार्यान्वयनका लागि चालेका कदम सहित पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको लिगेसी बोकेर मैदानमा उत्रिएका छन । राष्ट्रिय क्रान्ति पार्टीका डा. राजीव झा नयाँ सोच र वैकल्पिक राजनीतिका पक्षधरका रूपमा प्रस्तुत भइरहेका छन् । उनि विगतमा यसै क्षेत्रबाट चुनाव जितेका राजेन्द्र महतोको लिगेसी बोकेर मैदानमा उत्रिएका छन । डा. झा क्लोथ बैंक मार्फत समाजिक अभियन्ताका रुपमा चुनावी मैदामा उत्रिएका छन । भने रास्वपाका मनिष झा सुशासन, पारदर्शिता र पुरानो राजनीतिक प्रवृत्तिको अन्त्यलाई मुख्य एजेन्डा बनाइरहेका छन् ।

स्थानीय मतदाताहरूको मत विभाजन कसरी हुन्छ भन्ने कुराले नतिजामा निर्णायक भूमिका खेल्ने देखिन्छ । कतिपय मतदाता विकास र अनुभवलाई प्राथमिकता दिने पक्षमा देखिन्छन् भने कतिपयले नयाँ अनुहार र नयाँ सोचलाई अवसर दिनुपर्ने धारणा राखेका छन् ।
तर यो क्षेत्रमा भने जातीय समीकरणले समेत चुनावी नतिजालाई प्रभावित गर्ने छ । अहिले सम्म कुनै पनि उम्मेदवारको पक्षमा जातिय अगुवा खुलेका छन । उनिहरुको गतिविधीले चुनावी माहौलले अर्कै रुप दिने सम्भावना पनि उत्तिकै छ ।

चुनावी प्रचारप्रसार तीव्र बन्दै जाँदा धनुषा–३ को राजनीतिक तापक्रम समेत बढेको छ । नेताहरूको दौडधुप, घरदैलो अभियान र चुनावी सभाले क्षेत्र पूरै चुनावमय बनेको छ । अन्ततः जनताको मत कसको पक्षमा जान्छ भन्ने कुरा निर्वाचन परिणामले नै स्पष्ट पार्नेछ । धनुषा–३ मा यसपटक कसले बाजी मार्ला भन्ने कौतुहलता भने चरममा पुगेको छ ।

 

प्रकाशित मिति: २०८२ माघ १०, शनिबार १०:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको