सप्तरी , माघ १० । छिन्नमस्ता गाउँपालिका का अध्यक्ष विद्यानन्द चौधरी लाई इन्टरनेशनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। श्रीलंका राजधानी कोलम्बोमा शुक्रबार आयोजित समारोहमा चौधरीले यो प्रतिष्ठित अवार्ड प्राप्त गरेका हुन्।
अध्यक्ष चौधरीले अवार्ड पाउने कारणमा आफ्नो पालिकामा गरेका चौतर्फी विकास तथा सुशासनका पहलहरू मूल्याङ्कन गरिएको बताउनुभयो। उनका अनुसार, चुनावमा निर्वाचित हुनु अघि छिन्नमस्ता गाउँपालिकामा तीन आर्थिक वर्षसम्म परिषद् नभएको अवस्थामा उनले पालिकालाई विकास र समृद्धितर्फ अगाडि बढाउने कार्य गरेका थिए।
अध्यक्ष चौधरीले भने, “पालिकामा आमूल परिवर्तन र विकासका लागि गरेका प्रयासहरूलाई सम्मान गर्दै मलाई अवार्ड प्रदान गरिएको छ। यसले जिम्मेवारी थपिएको महसुस गराउँछ।”
अवार्ड प्राप्त गरेसँगै उनले पालिकाको विकास र सकारात्मक परिवर्तनका लागि सहयोग गर्दै आएका सबै जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दा प्रति धन्यवाद व्यक्त गर्नुभयो। उनले आगामी दिनमा अझ सक्रिय भएर सहकार्य र समन्वय गर्दै विकासका काम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
सप्तरीको पछाडि परेको छिन्नमस्ता गाउँपालिका आज चौधर्फी विकासको दृष्टिले उदाहरणीय बनेको छ। अध्यक्ष चौधरीको नेतृत्व र योजनाबद्ध पहलले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक सेवामा उल्लेखनीय सुधार ल्याएको स्थानीय जनताले उल्लेख गरेका छन्।
यो अवार्डले न केवल अध्यक्ष चौधरीको व्यक्तिगत योगदानको सम्मान गरेको छ, तर गाउँपालिकाको स्थानीय विकास र सुशासनको सकारात्मक छवि अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको पनि मानिएको छ।




