ओम प्रकाश यादव
रौतहट, माघ १२ । रौतहट क्षेत्र नं १ को समग्र विकासका लागि जनता समाजवादी पार्टी नेपालका उम्मेदवार योगेन्द्र राय यादवबाहेक अन्य कुनै विकल्प नरहेको स्पष्ट सन्देश जसपा नेपालका नेता तथा पूर्व प्रदेश सांसद बाबूलाल साहले दिएका छन्।
रौतहट क्षेत्र नं १ अन्तर्गत माधवनारायण नगरपालिका–६, माधोपुर बजारमा आज जसपा नेपालले सञ्चालनमा ल्याएको चुनावी प्रचार–प्रसार तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता साहले आगामी प्रतिनिधि सभा निर्वाचनमा योगेन्द्र राय यादवको विजय कसैले रोक्न नसक्ने ठोकुवा गरे।
उनले भने, “रौतहट क्षेत्र नं १ को विकास योगेन्द्र यादवबाहेक अरू कसैले गर्न सक्दैन। जनताले अब विकास देखेका छन्, अनुभूति गरेका छन्। त्यसैले फागुन २१ गते हुने निर्वाचनमा योगेन्द्र यादवको जित सुनिश्चित छ।”
पूर्व प्रदेश सांसद तथा राज्य मन्त्री रहँदा योगेन्द्र यादवले जनताको मन जित्ने गरी शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र कृषि क्षेत्रमा ठोस विकास गरेको उल्लेख गर्दै बाबूलाल साहले ती कामकै कारण आज क्षेत्र नं १ का जनता बहुमत दिएर पुनः निर्वाचित गराउन आतुर रहेको बताए।
निरन्तर जनताकै बीचमा रहने, सुख–दुःखमा सँगै उभिने र काम गरेर देखाउने नेताका रूपमा योगेन्द्र यादव स्थापित भइसकेको भन्दै नेता साहले छाता छापमा मतदान गरी भारी मतान्तरले विजयी गराउन सबैलाई आह्वान गरे।
कार्यक्रममा बोल्दै जसपा नेपालका वरिष्ठ नेता अनिल सिंहले रौतहट क्षेत्र नं १ का सबै उम्मेदवारमध्ये जनताले सबैभन्दा बढी विश्वास गरेको उम्मेदवार योगेन्द्र यादव नै भएको स्पष्ट पारे।
“अन्य उम्मेदवारभन्दा योग्यता, अनुभव, स्वच्छ छवि र जनसम्पर्कका हिसाबले योगेन्द्र यादव धेरै अगाडि छन्। उनको जित अब औपचारिकता मात्रै हो,” उनले भने।
अनिल सिंहले क्षेत्र नं १ लाई विकासको गतिमा अगाडि बढाउने स्पष्ट भिजन योगेन्द्र यादवसँग मात्रै रहेकाले यसपटक जनताले कुनै प्रयोग नगरी अनुभवी र परिणाममुखी नेताको पक्षमा मत हाल्ने बताए।
अन्य उम्मेदवारको तुलनामा योग्य, कुनै दाग नलागेका उम्मेदवार भएकाले योगेन्द्र यादवको जीत सुनिश्चित रहेको उनको भनाइ थियो। क्षेत्र नं १ लाई विकासको गतिमा अघि बढाउने स्पष्ट भिजन योगेन्द्र यादवसँग मात्रै रहेकाले उनको जीत अपरिहार्य रहेको उनले बताए।
जसपा नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार योगेन्द्र राय यादवले आफूविरुद्ध प्रतिस्पर्धा नै नरहेको दाबी गर्दै जनताको व्यापक समर्थन आफ्नो पक्षमा रहेको बताए।
“मैले विगतमा काम गरेर देखाइसकेको छु। जनताको बीचमै बसेर विकासको गंगा बगाएँ। त्यसैले चाहेर पनि कसैले मेरो जीत रोक्न सक्दैन,” उनले भने।
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार योगेन्द्र राय यादवले आफूप्रति व्यापक जनलहर चलेको दाबी गरे। विगतमा प्रदेश सांसद रहँदा क्षेत्र नं १ मा विकासका काम गरेको र सधैं जनताकै बीचमा रहेकाले यसपटक पनि बहुमतसहित विजयी हुनेमा आफू पूर्ण आशावादी रहेको उनले बताए।
पूर्व रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवले यसपटक मधेश विरोधी दल एमाले, कांग्रेस, कम्युनिस्ट पार्टी र रास्वपाका उम्मेदवारलाई क्षेत्र नं १ का जनताले नकरात्मक सन्देशसहित पराजित गर्ने चेतावनी दिए।
उनले कांग्रेस र कम्युनिस्टको लुट, भ्रष्टाचार र कुशासनकै कारण देश जनआन्दोलनतर्फ धकेलिएको र जनताको विश्वास गुमाइसकेका पुराना अनुहारलाई यसपटक जनताले ठेगान लगाउने बताए।
योगेन्द्र राय यादव २०७४ सालमा रौतहट क्षेत्र नं १ (ख) बाट जसपा नेपालबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए। सोही निर्वाचनमा क्षेत्र नं १ ९क० बाट बाबूलाल साह प्रदेश सांसद निर्वाचित भएका थिए ।
प्रदेश सांसद रहँदा उनले क्षेत्रका हरेक गाउँ, टोल र बस्तीमा विकासका काम पुर्याएको भन्दै आज क्षेत्रवासीले उनलाई ‘विकास पुरुष’ नेताका रूपमा लिने गरेका छन्।
क्षेत्र नं १ को ९क० मा बाबूलाल साह र अनिल कुमार सिंह बलियो पकड भएका नेता मानिन्छन्। ती दुवै नेताको स्पष्ट साथ योगेन्द्र राय यादवलाई प्राप्त भएकाले यसपटक क्षेत्र नं १ मा उनको विजय सहज हुने चर्चा व्यापक रूपमा चलिरहेको छ।
केही दिनअघि जसपा नेपाल र लोसपा नेपालबीच एकीकरण भएपछि बाबूलाल साह र योगेन्द्र यादव एउटै पार्टीका नेता बनेका छन्। क्षेत्र नं १ ९ख० मा योगेन्द्र यादवको बलियो पकड र ९क० मा बाबूलाल साह तथा अनिल सिंहको प्रभावशाली साथका कारण क्षेत्र नं १ मा योगेन्द्र राय यादवको जीत सुनिश्चित जस्तै देखिएको छ।
क्षेत्र नं १ का चिया पसलदेखि गाउँ–गाउँ र टोल–टोलमा अहिले एउटै चर्चा छ “योगेन्द्र यादवको विकल्प छैन।”
जनताको स्पष्ट रुझान योगेन्द्र यादवतर्फ देखिन थालेपछि अन्य उम्मेदवारहरू आत्तिन थालेको स्थानीयको भनाइ छ।
जसपा नेपालका क्षेत्र नं १ का क्षेत्रीय संयोजक हरिनारायण प्रसाद यादवको अध्यक्षता तथा पूर्व प्रदेश सांसद बाबूलाल साहको प्रमुख आतिथ्यमा सम्पन्न सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका नेता अनिल सिंह, महिला नेतृ किरण ठाकुर, पूर्व जिल्ला अध्यक्ष श्याम बिहारी यादव, माधवनारायण नगरपालिकाका पूर्व मेयर वीरेन्द्र प्रसाद यादव लगायतका नेताहरूले योगेन्द्र यादवलाई भारी मतले विजयी गराउन अपिल गरेका थिए।
चुनावी गतिविधि सञ्चालन, रणनीति निर्माण तथा प्रचार–प्रसारलाई अझ सशक्त बनाउने उद्देश्यले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार योगेन्द्र राय यादवले माधोपुर बजारमा आजदेखि सम्पर्क कार्यालय औपचारिक रूपमा सञ्चालनमा ल्याएका छन्।






