काठमाडौं , माद्य १३ । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ उचाइ छोएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेर कीर्तिमान बनाएको सुनको मूल्य मंगलबार थप ३०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गर्न सफल भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर देखिएको उतारचढाव, डलरको मूल्य र भूराजनीतिक अस्थिरताका कारण नेपाली बजारमा पनि सुनको मूल्य लगातार बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।
सुनको मूल्य यसरी लगातार बढ्दा विवाह, व्रतबन्ध तथा अन्य सामाजिक तथा सांस्कृतिक कार्यक्रमका लागि गहना खरिद गर्ने उपभोक्ताहरू प्रभावित भएका छन् । मूल्य अत्यधिक महँगो भएपछि बजारमा सुनको कारोबार घट्ने संकेत पनि देखिन थालेको व्यवसायीहरूको भनाइ छ ।
यता, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले बढ्दै ६ हजार ८७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थविद्हरूका अनुसार विश्व बजारमा लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भइरहेकाले यसको मूल्य उच्च रहन सक्ने अनुमान गरिएको छ । साथै, अमेरिकी डलरको दर, अन्तर्राष्ट्रिय ब्याजदर र विश्व राजनीतिमा देखिएको तनावले समेत सुनको मूल्यलाई माथि धकेलिरहेको छ ।
यदि यही अवस्था कायम रहिरहेमा आगामी दिनमा सुनचाँदीको मूल्य अझै बढ्न सक्ने सम्भावना रहेको व्यवसायी तथा जानकारहरू बताउँछन् ।




