प्रतिनिधिसभा निर्वाचनः समानुपातिक मतपत्र छपाइ सम्पन्न, प्रत्यक्षतर्फको काम तीव्र



काठमाडौँ, माघ १३ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ को काम तीव्र रूपमा अगाडि बढिरहेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया सुरु भइसकेको छ ।

जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा नेपाली सेनाको कडा सुरक्षा व्यवस्थाबीच मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।

आयोगले निर्वाचनको तयारीलाई समयमै पूरा गर्ने लक्ष्यसहित फागुन ५ गतेभित्र सबै मतपत्र सम्बन्धित निर्वाचन क्षेत्र तथा मतदान केन्द्रमा पुर्‍याइसक्ने योजना बनाएको छ । मतपत्र सम्बन्धित स्थानमा पुगेपछि कानुनबमोजिम मतदान अधिकृतहरूले मतदानको दिन मात्र सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था गरिएको छ । मतपत्र ढुवानी तथा भण्डारणमा उच्चस्तरीय सुरक्षा प्रबन्ध मिलाइएको आयोगले स्पष्ट पारेको छ ।

प्रत्यक्षतर्फको मतपत्र छपाइ आगामी १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको भण्डारीले जानकारी दिए । उनका अनुसार प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारी मनोनयन गराएका उम्मेदवारहरूको अन्तिम नामावली यसअघि नै प्रकाशन भइसकेको छ । यस्तै, समानुपातिकतर्फ बन्दसूचीमा समावेश उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचन आयोगले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्दै राजनीतिक दल तथा उम्मेदवारहरूबाट निर्वाचन आचारसंहिताको पूर्ण पालना हुने विश्वास लिएको जनाएको छ । आयोगका अनुसार निर्वाचन प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सबै तयारीलाई तीव्रता दिइएको छ ।

प्रतिनिधिसभा निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरणका रूपमा लिइएको छ भने आयोगले सम्पूर्ण सरोकारवालाको सहकार्यमा निर्वाचन सफल बनाउने अपेक्षा गरेको छ ।

प्रकाशित मिति: २०८२ माघ १४, मंगलवार १४:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको