काठमाडौं, माघ १५ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनको शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने चेतावनी दिएका छन्।
निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री अर्यालले सरकार भयरहित निर्वाचनको वातावरण बनाउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले निर्वाचन सुरक्षा सुदृढ पार्दै मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरू सबैको भरपर्दो सुरक्षाको व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायत आयोगका पदाधिकारीसँग बिहीबार भएको बैठकमा गृहमन्त्री अर्यालले भने, “हामी निर्वाचनको शान्तिसुरक्षा सुनिश्चित गर्न उच्च प्राथमिकता दिँदै काम गरिरहेका छौं। कुनै पनि आपराधिक वा निर्वाचनविरोधी गतिविधि सह्य गरिने छैन।”
उहाँले गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग समन्वय गरी सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेको र स्थानीय प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूलाई शून्य सहनशीलता नीति अवलम्बन गरी काम गर्न निर्देशन दिइसकेको पनि जानकारी दिनुभयो।
गृहमन्त्री अर्यालले स्पष्ट पार्दै भने, “निर्वाचनमा शान्ति भंग गर्ने प्रयास गर्ने जोकोहीमाथि कडा कारबाही हुनेछ। सबै सरोकारवालाको सुरक्षा सुनिश्चित गर्न हामी सतर्क छौं।”




