अछाम, माघ १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी अभियानमा सहभागी एक पुरुष अछाममा अचानक बेहोस भएका छन् । अछाम जिल्ला सदरमुकाम मंगलसेनमा शुक्रबार बिहान उक्त घटना भएको हो ।
बेहोस हुने व्यक्ति नुवाकोट घर भएका ४३ वर्षीय दिनेश सिटौला रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार सिटौला बिहान सवारी साधनबाट ओर्लिने क्रममा अचानक बेहोस भएर ढलेका थिए ।
“गाडीबाट उत्रिने बित्तिकै उनी अचानक बेहोस भए,” डीएसपी खनालले बताए, “तत्कालै उपचारका लागि जिल्ला अस्पताल अछाम लगिएको थियो ।” अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकले थप उपचार आवश्यक रहेको जनाउँदै सिटौलालाई उच्चस्तरीय उपचारका लागि रेफर गरेका हुन् ।
प्रहरीका अनुसार सिटौलालाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ । “काठमाडौं लैजान हेलिकोप्टर अछाम पुगिसकेको छ,” डीएसपी खनालले जानकारी दिए । सिटौलाको स्वास्थ्य अवस्था र बेहोस हुनुको कारणबारे विस्तृत परीक्षणपछि मात्र स्पष्ट हुने जनाइएको छ ।
रास्वपाका वरिष्ठ नेता बालेन हाल सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा चुनावी अभियानमा सक्रिय छन् । उनले सुदूरपश्चिमका सबै जिल्लामा अभियान सम्पन्न गरिसकेको र अछामपछि कर्णाली प्रदेश जाने कार्यक्रम रहेको बताइएको छ ।
चुनावी अभियानका क्रममा लगातारको यात्रा, भीडभाड र थकानका कारण स्वास्थ्य समस्या देखिन सक्ने भन्दै चिकित्सकहरूले यस्ता अभियानमा संलग्न व्यक्तिहरूलाई स्वास्थ्यप्रति विशेष ध्यान दिन सुझाव दिएका छन् ।
घटनापछि अभियानमा सहभागी अन्य व्यक्तिहरूले सिटौलाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यस घटनाले चुनावी अभियानका क्रममा सुरक्षासँगै स्वास्थ्य व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण रहेको देखाएको स्थानीयको भनाइ छ ।




