राष्ट्रपति पौडेल जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्दै



काठमाडौं, माघ १८। राष्ट्रपति रामचन्द्र पौडेल आज (आइतबार) जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्दै छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेलले माघ २१ गतेसम्म जापान भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्नेछन्। भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते नेपाल एयरलाइन्सकै उडान नम्बर ४३४ मार्फत दिउँसो ४ः३० बजे स्वदेश फर्किने कार्यक्रम छ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारले आयोजना गर्ने विशेष स्वागत समारोहमा सहभागिता जनाउनेछन्। त्यसैगरी माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।

सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच भेटवार्ता हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसका अतिरिक्त जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि राष्ट्रपति पौडेलको शिष्टाचार भेट हुने कार्यक्रम रहेको छ।

भ्रमण अवधिमा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउनुका साथै जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने सम्मान तथा स्वागत समारोहमा पनि सहभागी हुनेछन्।

राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू समेत जापान भ्रमणमा सहभागी हुनेछन्।

प्रकाशित मिति: २०८२ माघ १९, आइतवार ०९:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको