काठमाडौं, माघ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्नुपर्ने बताएका छन्। हिमाली क्षेत्रमा हिउँ परेमा निर्वाचन दुई चरणमा हुन सक्ने प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै अध्यक्ष ओलीले आवश्यक परे निर्वाचनको मिति सारेर भए पनि एकै चरणमा चुनाव गर्नुपर्ने धारणा राखेका हुन्।
‘हिमाली भेगमा हिउँ पर्छ भन्ने कुरा सबैलाई थाहा छ। त्यो हुँदाहुँदै किन फागुन २१ कै मिति तोकियो ? के सरकारलाई यो कुरा थाहा थिएन?’ उनले प्रश्न गरे। फागुन २१ मा एकै चरणमा निर्वाचन सम्पन्न गर्न नसकिने अवस्था भए मिति सार्नुपर्ने उनको भनाइ थियो।
अध्यक्ष ओलीले निर्वाचन सम्पन्न भएपछि तत्काल मतगणना सुरु गर्नुपर्नेमा जोड दिँदै मतपेटिका एक सेकेन्ड पनि पार्टी प्रतिनिधिको नजरबाट टाढा हुन नहुने बताए। ‘निर्वाचनपछि एक मिनेट त के, एक सेकेन्ड पनि मतपेटिका प्रतिनिधिको दृष्टिबाट बाहिर हुनु हुँदैन,’ उनले भने।
प्रधानमन्त्रीले हिमाली जिल्लामा हिउँ परेपछि निर्वाचन स्थगित हुन सक्ने अभिव्यक्ति दिएको सन्दर्भमा अध्यक्ष ओलीले निर्वाचनको मिति तोक्दा नै हिउँदमा हुने कठिनाइबारे किन ध्यान नदिइएको भन्दै प्रश्न उठाए।
यस्तै, उनले निर्वाचन शतप्रतिशत निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुनुपर्नेमा जोड दिए। ‘निर्वाचनको तयारी निष्पक्ष हुनुपर्छ। मतदान डर, त्रास र प्रलोभनबिनै हुनुपर्छ,’ उनले भने, ‘मतपेटिका एक सेकेन्ड पनि पार्टी प्रतिनिधिको अनदेखा हुनु हुँदैन, यसमा सबै चनाखो हुनुपर्छ।’




