जनकपुरधाम, माघ २५ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा साहसिक प्रतिस्पर्धा गर्दै नेपाल झिनो अन्तरले पराजित भएको छ। मुम्बईस्थित वानखेडे मैदानमा सम्पन्न खेलमा नेपाल बलियो इङ्ल्यान्डसँग ४ रनले हार्न पुगेको हो।
इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन जोड्यो। जितका लागि अन्तिम ओभरसम्म संघर्ष गरे पनि आवश्यक रन पूरा गर्न नसक्दा नेपाल विजयबाट वञ्चित रह्यो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४४ रनको महत्वपूर्ण योगदान दिए। कप्तान रोहित पौडेलले ३९ रन बनाए भने ओपनर कुशल भुर्तेलले २९ रन जोडे। लोकेश बम ३९ रनमा अविजित रहँदै अन्तिमसम्म जितको आशा जिवित राखेका थिए।
बलिङतर्फ इङ्ल्यान्डका लियाम डासनले दुई विकेट लिए। विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले समान एक–एक विकेट हात पारे।
यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो। कप्तान ह्यारी ब्रुकले ३२ बलमा ५३ रन बनाए भने जेकोब बेथेलले ३५ बलमा ५५ रनको अर्धशतकीय पारी खेले। विल ज्याक्स ३९ रनमा अविजित रहे।
नेपालका बलरमध्ये दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए। शेर मल्ल र सन्दीप लामिछानेले समान एक सफलता हात पारे।
विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ इङ्ल्यान्डसँगै वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड प्रतिस्पर्धामा छन्। पहिलो खेलमा हार बेहोरे पनि नेपालले देखाएको प्रदर्शनले समर्थकलाई उत्साहित बनाएको छ।






