आरक्षणसहितका उपलब्धी जोगाउनका लागि जसपालाई बलियो बनाउनु आवश्यक : उपेन्द्र यादव



सप्तरी, माघ २७। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी लगायत उपेक्षित तथा उत्पीडित समुदायका लागि स्थापित आरक्षणसहितको उपलब्धी जोगाउनका लागि जसपालाई बलियो बनाउनु आवश्यक रहेको बताएका छन ।

सप्तरीको डाक्नेश्वरीमा आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले न्याय, समता, पहिचान र अधिकारका लागि भएको संघर्षबाट प्राप्त उपलब्धीहरू रक्षा गर्नु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गरे।

उनले भने, “लोकसेवा, शिक्षक सेवा, सुरक्षा निकाय लगायत राज्यका विभिन्न संरचनामा आरक्षण हुनु संघर्ष र बलिदानको परिणाम हो। यी उपलब्धीहरू खेर जान दिनु हुँदैन। बाँकी अधिकार प्राप्त गर्न आगामी निर्वाचनमा जसपा नेपाललाई मजबुत शक्ति बनाएर पठाउनु आवश्यक छ।”

प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका यादवले आरक्षणकै कारण अहिले राज्यका निकायहरूमा मधेशी, दलित, आदिवासी जनजाति, थारु, मुस्लिम तथा अन्य अल्पसंख्यक समुदायको उपस्थिति बढ्न थालेको बताए।

मधेशमा सरकारी लगानी न्यून हुँदा क्षेत्र विकासमा पछाडि परेको उल्लेख गर्दै उनले गाउँमा सडक, सुविधासम्पन्न अस्पताल, गुणस्तरीय शिक्षा र रोजगारीको अभाव कायमै रहेको धारणा राखे। “मधेशबाट करिब ७० प्रतिशत राजश्व संकलन हुन्छ, तर लगानी भने ११ प्रतिशत मात्र छ,” उनले भने।

अध्यक्ष यादवले केही शक्ति संघीयतामाथि प्रहार गर्दै प्राप्त अधिकारहरू कमजोर पार्ने प्रयासमा रहेको आरोप लगाउँदै ती उपलब्धीको रक्षाका लागि जसपा नेपाल जुनसुकै संघर्ष गर्न तयार रहेको बताए। संघीय शासन व्यवस्था भएका देशहरू विकास र समृद्धितर्फ अघि बढेको उल्लेख गर्दै उनले परिवर्तन विरोधी शक्तिलाई मतमार्फत जवाफ दिन मतदातालाई आग्रह गरे।

कार्यक्रममा जसपा नेपालकी नेता तथा पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव तथा पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, मधेश प्रदेशकी पूर्व उपसभामुख उपमा देव, केन्द्रीय नेता चन्देश्वर सदा, समानुपातिक उम्मेदवार चुल्हाइ मण्डल, जिल्ला अध्यक्ष सुनिल कुमार झा, सचिव जयनारायण यादव, डाक्नेश्वरीका पूर्व मेयर शिवनारायण साह, मेयरका प्रत्यासी बेचु साह, युवा नेता राजेश्वर राय, शान्ता मेहता, ओमप्रकाश यादव लगायतले पनि मन्तव्य राखेका थिए।

सोही दिन अध्यक्ष यादवसहितका नेताहरूले डाक्नेश्वरी नगरपालिका–६ अन्तर्गत कटैया, बिसनपुर, औरही, जमुवा लगायतका टोलमा पुगेर मतदातासँग भेटघाट गरेका थिए।

प्रकाशित मिति: २०८२ माघ २८, मंगलवार ०८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको