सिरहा कारागारमा हतियार, नाइकेसहित १३ जना नियन्त्रणमा



सिरहा, माघ २७ । सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि ‘नाइके’ इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। घटना जिल्ला सुरक्षा समितिको विशेष अनुगमनका क्रममा उजागर भएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागारबाट बाहिर निकाल्ने प्रयास गरेको थियो। गोप्य सूचनाका आधारमा आज कारागारभित्र खानतलासी गर्दा हतियार फेला परेको हो।

पौडेलले भने, “नाइके यादवसहित १३ जनालाई कारागारबाट झिकेर प्रहरी हिरासतमा राखिएको छ। उनीहरूलाई अन्यत्र कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ।”

नाइके यादव पक्राउ परेपछि कारागारभित्र रहेका उनका समर्थकहरूले नाराबाजी गर्दै आगजनी र तोडफोडसमेत गरेका छन्। प्रशासनले सुरक्षा स्थितिलाई नियन्त्रणमा राख्न थप सतर्कता अपनाएको जनाएको छ।

सिरहा कारागारको क्षमता १५० जना भएपनि हाल ४३७ जना कैदीबन्दी रहेका छन्। क्षमताभन्दा बढी कैदीबन्दी भएकै कारण यसअघि गत साउनमा पनि कारागारमा झडप हुँदा १३ जना घाइते भएका थिए।

प्रकाशित मिति: २०८२ माघ २८, मंगलवार ०९:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको