हंसपुरका मेयर प्रदीप यादवप्रति मुख्यमन्त्रीसहित कांग्रेस नेताहरूको श्रद्धाञ्जली



जनकपुरधाम, माघ २७ । नेपाली कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष, हंसपुर नगरपालिकाका नगर प्रमुख तथा मधेश प्रदेश नगरपालिका संघका अध्यक्ष स्वर्गीय प्रदीप कुमार यादवप्रति कांग्रेसका शीर्ष नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

नेपाली कांग्रेस मधेश प्रदेशका सभापतिसमेत रहेका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, नेता विमलेन्द्र निधि, महेन्द्र यादव, उपसभापति चन्द्रशेखर यादव, महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ, सहमहामन्त्री जय नारायण प्रसाद यादव लगायतका नेताहरू स्वर्गीय यादवको निजी निवास पुगेर उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै सम्मान प्रकट गरेका हुन्।

नेताहरूले स्वर्गीय यादवलाई इमानदार, समर्पित तथा जनप्रिय नेतृत्वका रूपमा स्मरण गर्दै नेपाली कांग्रेस र स्थानीय तहको विकासमा उनले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका छन्।

मुख्यमन्त्री यादवले स्वर्गीय यादवको निधनले पार्टी, मधेश प्रदेश र स्थानीय तहले सक्षम, कर्मठ तथा दूरदर्शी नेतृत्व गुमाएको उल्लेख गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे।

यसैबीच, उनको निधनप्रति सम्मान जनाउँदै कांग्रेस मधेश प्रदेश कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको छ। बैठकले मधेश प्रदेशका आठवटै जिल्लाका पार्टी कार्यालय आज एक दिन बन्द राख्ने, माघ २७ र २८ गते दुई दिन आधा झण्डा झुकाउने, शोक पुस्तिका राख्ने तथा १३औँ दिन पुण्यतिथिका अवसरमा प्रदेश पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको कांग्रेस प्रचारप्रसार समितिका मधेश प्रदेश संयोजक नितिश गुप्ताले जानकारी दिए।

स्वर्गीय यादवको अन्त्येष्टि आजै गरिने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २०८२ माघ २८, मंगलवार १३:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको