नेपालको कमजोर प्रदर्शन, मोस्का दाजुभाइको कमालमा इटलीको ऐतिहासिक जित



मुम्बई, माघ २९। आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ। लगातार दोस्रो हारसँगै नेपालको सुपर एट पुग्ने सम्भावना थप जटिल बनेको छ।

नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले मात्र १२।४ ओभरमा बिना कुनै क्षति पूरा गर्‍यो। एन्थोनी मोस्का र जस्टिन मोस्काले अविजित रहँदै शतकीय साझेदारी गरेपछि इटलीले विश्वकप इतिहासमै पहिलो जित हात पारेको हो।



लक्ष्य पछ्याउने क्रममा मोस्का दाजुभाइले सुरुदेखि आक्रामक ब्याटिङ गरे। पावरप्लेभित्रै ठूलो स्कोर बनाउँदै उनीहरूले खेललाई एकतर्फी बनाए। दुवैले ११औं ओभरमा अर्धशतक पूरा गरेका थिए।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल १९।३ ओभरमा १२३ रनमा समेटिएको थियो। इटलीका स्पिनरहरू सामु नेपाली ब्याटरहरू खुल्न सकेनन्।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। कप्तान रोहित पौडेलले २३, आसिफ शेखले २० रन जोडे। करण केसीले अविजित १८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १७ रन योगदान गरे। अन्य ब्याटरले उल्लेखनीय स्कोर गर्न सकेनन्।

इटलीका लेगस्पिनर क्रिसन कालुगमागेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। बेन्जामिन मानेन्टीले किफायती बलिङ गर्दै २ विकेट झारे। अन्य बलरले पनि दबाब कायम राखेपछि नेपाल ठूलो योगफल बनाउन असफल भयो।

यसअघि इंग्ल्यान्डसँग पहिलो खेलमा झिनो अन्तरले पराजित भए पनि नेपालले त्यस खेलमा देखाएको लय इटलीविरुद्ध कायम राख्न सकेन।

इटलीका नियमित कप्तान वायन म्याडसन घाइते भएपछि आजको खेलमा ह्यारी मानेन्टीले टोलीको नेतृत्व गरेका थिए।

प्रकाशित मिति: २०८२ माघ २९, बिहीबार १८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको