नेपालगन्ज, फागुन १ । नेपालगन्ज–गुलरिया सडक खण्डअन्तर्गत खजुराको पेडारी नाला नजिक सडकको बीच भागमा शंकास्पद कुकर बम फेला परेको छ।
आज बिहान कालो टेपले बेरिएको कुकर सडकमा देखिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै नेपाली सेना घटनास्थलमा पुगेको छ र बम निष्क्रिय पार्ने तयारी भइरहेको छ।
सुरक्षाको दृष्टिले उक्त क्षेत्रमा सवारीसाधन तथा सर्वसाधारणको आवतजावत रोकिएको छ। बम भेटिएको स्थान नजिकै पेडारी नालामा पुल निर्माणको काम भइरहेको बताइएको छ।
उक्त वस्तु कसले र किन राखेको हो भन्ने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








