काठमाडौं, फागुन ४ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आजदेखि राजनीतिक दल तथा उम्मेदवारहरूले औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाउने भएका छन्। मतदान मितिभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत चुनावी सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने कानुनी व्यवस्था अनुसार प्रचार आजबाट सुरु भएको हो।
निर्वाचन आयोगका अनुसार फागुन १८ गते राति १२ बजेसम्म उम्मेदवारहरूले आचारसंहिताको दायराभित्र रहेर मतदातासमक्ष आफ्ना एजेण्डा राख्दै मत माग्न सक्नेछन्। आयोगले निर्वाचनको निष्पक्षता र विश्वसनीयतालाई उच्च प्राथमिकतामा राखेर आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबै दल, उम्मेदवार र सरोकारवालालाई आग्रह गरेको छ।
आचारसंहिता कार्यान्वयन र अनुगमनका लागि आयोगले विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ। उल्लङ्घनका घटना देखिएमा सम्बन्धित पक्षलाई स्पष्टीकरण सोधिने र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी आयोगले दिएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आचारसंहिता उल्लङ्घनप्रति आयोगले शून्य सहनशीलताको नीति अपनाएको बताउनुभयो। उहाँका अनुसार उल्लङ्घनको प्रकृति हेरेर सचेत गराउनेदेखि जरिवाना तथा उम्मेदवारी खारेजसम्मको व्यवस्था कानुनमा रहेको छ।
दल तथा उम्मेदवारले तोकिएको मापदण्डभित्र रहेर पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा विज्ञापन गर्न पाउनेछन्। आमसभा वा कोणसभा गर्दा मञ्च निर्माणलगायत भएको खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान पनि आयोगले स्मरण गराएको छ।
यसैबीच सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट कुनै दल वा उम्मेदवारविरुद्ध मिथ्या सूचना, दुष्प्रचार वा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने स्पष्ट पारिएको छ। यस्तो गतिविधि चुनावी वातावरण प्रभावित गर्ने उद्देश्यले गरिएको पाइए कडा कारबाही हुने आयोगको चेतावनी छ।






