जनकपुरधाम, फागुन ५ । भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेश अन्तर्गत कार्यरत कर्मचारीले सब-इन्जिनियर प्रमोदकुमार यादवको हत्या घटनाको विरोधमा आज ‘पेनडाउन’ आन्दोलन गरेका छन्।
कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारेका छन्। उनीहरूले घटनाको निष्पक्ष तथा शीघ्र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
प्रमोदकुमार यादव सर्लाहीस्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत थिए। आइतबार राति मलङ्गवा नगरपालिका–१० मा अज्ञात समूहले गोली प्रहार गर्दा उनको मृत्यु भएको थियो।
घटनापछि प्रदेशभरका प्राविधिक तथा प्रशासनिक कर्मचारी आन्दोलित बनेका छन्। आन्दोलनमा सहभागीहरूले सार्वजनिक सेवामा खटिएका कर्मचारीमाथि भइरहेका आक्रमणले कार्यस्थलको सुरक्षा कमजोर बन्दै गएको बताएका छन्।
कर्मचारीका विभिन्न सङ्घ–सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै घटनालाई गम्भीरतापूर्वक लिन सरकारसँग आग्रह गरेका छन्। यस्ता हिंसात्मक घटनाले कर्मचारीको मनोबल घटाउने र सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।






