सप्तरी, फागुन २१ । राजविराज कारागारमामा मतदान सुरु भएको तीन घण्टामै मतदान कार्य सकिएको छ । मतदान अधिकृत उमेश कुमार अर्यालका अनुसार कुल ६८ मत खसेको छ । विहान सात बजे सुरु भएको मतदान तीन घण्टामै विहान १० बजे नै सकिएको उनले बताए ।
कारागारमा कुल ६९ कैदीबन्दी र ४ कर्मचारी गरी ७२ जना मतदाता थिए । ६९ कैदीबन्दी मध्ये दुई जना कैद सजाय भुक्तान गरी जेलमुक्त भएको र एक जनाको स्थान्तरण भएकाले ६६ जनाले मतदान गरेको निमित्त जेलर शुशिल कर्णले जानकारी दिए । यस्तै कर्मचारी तर्फ दुई जना गरी कुल ६८ मत खसेको उनको भनाई छ ।
कारागारमा हाल २१ महिला गरी ३५२ कैदीबन्दी छन् । जसमध्ये निर्वाचन कार्यालयले तयार पारेको मतदाता सुचीमा नाम समावेश भएकाहरुले मात्र प्रतिनिधिसभाको समानुपातिक तर्फ मत खसाल्ने अवसर प्राप्त गरेको कारागार प्रशासनले जनाएको छ ।






