जनकपुरधाम, फागुन २१ । प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभाको निर्वाचन गराउने एतिहासिक अभिभारा पुरा गरेकी छन । जेनजी विद्रोह पछि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचन २०८२ साँझ पाँचबजे शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जेनजी आन्दोलनपछिको जटिल संक्रमणकालीन अवस्थाबीच निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु अन्तरिम सरकारकी प्रधानमन्त्री तथा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको ऐतिहासिक सफलता हो ।
२७ भदौमा राष्ट्रपति रामचन्द्र पौडेल बाट शपथ लिएर कार्यभार सम्हालेकी कार्कीले राजनीतिक अस्थिरता, सडक आन्दोलन र अविश्वासको वातावरणका बीच निर्वाचनको मार्गचित्र तयार पारेकी थिइन् । आन्दोलनपछि सिंहदरबार केन्द्रित असामान्य परिस्थितिका कारण चुनाव नै अन्योलमा पर्ने आँकलन भइरहेका बेला उनले प्रमुख दलहरूसँग संवाद बढाउँदै सहमतिमार्फत वातावरण निर्माण गरिन् ।
आन्दोलनरत समूह, नागरिक समाज र राजनीतिक दलबीच विश्वासको पुल निर्माण गर्नु उनको मुख्य चुनौती थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित शीर्ष नेताहरूसँग निरन्तर संवाद, जाँचबुझ आयोगको कार्यलाई सहजीकरण तथा सुरक्षाको सुदृढ व्यवस्थापनले निर्वाचन सम्भव भएको विश्लेषकहरू बताउँछन् ।
छ महिनाको अवधिमा सरकारले निर्वाचन आयोग, सुरक्षा निकाय र प्रशासनसँग समन्वय गर्दै देशव्यापी मतदानको वातावरण तयार पारेको थियो । कतिपय संवैधानिक तथा राजनीतिक विवादबीच पनि सरकारले अतिरिक्त नियुक्ति वा हस्तक्षेप नगरी सीमित कार्यकारी भूमिकामै आफूलाई राखेको देखियो ।
नागरिक अगुवा र राजनीतिक विश्लेषकहरूले कार्कीले देखाएको लचकता, संयम र संवाद क्षमताले मुलुकलाई संवैधानिक ट्र्याकमा फर्काउन मद्दत पुगेको बताएका छन् । अब जननिर्वाचित नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ भने कार्की नेतृत्वको अन्तरिम सरकारले सत्ता हस्तान्तरणको तयारी थालेको छ ।
विषम परिस्थितिमा गठन भएको सरकारमार्फत समयमै निर्वाचन सम्पन्न हुनु लोकतान्त्रिक अभ्यासका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ ।






