सप्तरीमा १९ हजार भन्दा बढी मत बदर



सप्तरी, फागुन २६ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी तुल्याएको दावी गरीरहेपनि परिणाम भने त्यस्तो देखिएको छैन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा देखिएको बदर मतको संख्याले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेको देखिएको हो ।

चार निर्वाचन क्षेत्र रहेको जिल्लामा कूल ४ लाख ४६ हजार ४ सय २ मतदाता थिए । जसमध्ये ३ लाख १० हजार ७ सय ४५ मत खसेकोमा १९ हजार ५६८ मत बदर भएका छन् । क्षेत्र नम्बर १ मा ७६ हजार १ सय २५ मत खस्दा ४ हजार ८ सय १ तथा क्षेत्र नम्बर २ मा ६८ हजार ५ सय ६ मत खस्दा ५ हजार ७ सय २३ मत बदर भएका छन् ।



यस्तै क्षेत्र नम्बर ३ मा ७४ हजार ७ सय ३० मत खस्दा ५ हजार ३ सय ३४ तथा क्षेत्र नम्बर ४ मा ७१ हजार ८ सय १६ मत खस्दा ३ हजार ८ सय १० मत बदर भएको निर्वाचन कार्यालयको तथ्यांकले देखाएको छ ।

यसरी बदर भएका मतपत्रमा कतिपयमा दुईवटा चुनाव चिन्हमा छाप लगाइएको, कोठा बाहिर छाप लगाइएको तथा ल्याप्चे लगाइएको पाइएको छ । सबैतिर मतदाता शिक्षा कार्यक्रम पुग्न नसक्दा बदर मतको संख्या बढेको स्थानियको भनाई छ । जिल्लाम ६ दश्मलव ७२ प्रतिशत मत बदर भएको छ । सरकारले बदरमत घटाउन मतदाता शिक्षाका लागि लाखौं रुपैयाँ खर्च गरेपनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्तो परिणाम देखिएको भन्दै स्थानियले भावी दिनमा यस तर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याएका छन् ।

प्रकाशित मिति: २०८२ फाल्गुन २६, मंगलवार १६:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको