एजेन्सी, फागुन २९ । पश्चिमी इराकमा अमेरिकी सेनाको केसी–१३५स्ट्राटोट्यांकर रिफ्यूलिङ विमान दुर्घटनाग्रस्त भएको छ। यो घटना ईरानविरुद्धको संयुक्त अमेरिकी–इजरायली सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’का क्रममा भएको हो।
अमेरिकी सेनाको सेंट्रल कमाण्डका अनुसार, दुर्घटनामा दुईवटा विमान संलग्न थिए। एक विमान सुरक्षित रूपमा अवतरण गरेको छ भने अर्को विमान दुर्घटनाग्रस्त भएको छ। अमेरिकी अधिकारीहरूले घटनामा कुनै ‘फ्रेन्डली फायर’ वा शत्रुको हस्तक्षेप नभएको स्पष्ट पारेका छन्। उद्धार अभियान जारी रहेको र अहिलेसम्म कसैको मृत्यु भएको जानकारी नआएको पनि जनाएको छ।
तर, पश्चिमी इराकमा सक्रिय ईरान समर्थित समूह ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ले उक्त विमानलाई निशाना बनाई मार गिराएको दाबी गरेको छ। समूहले जारी गरेको बयानमा भनिएको छ, “हामीले आफ्नो देशको सार्वभौमिकता र हवाई क्षेत्रको रक्षा गर्दै केसी–१३५ विमानलाई निशाना बनाएका हौं।”
यस घटनापछि क्षेत्रीय तनाव थप बढ्ने संभावना रहेको विश्लेषकहरूले बताएका छन्। अमेरिकी–इजरायली संयुक्त अभियानको बेला आएको यो दुर्घटनाले मध्यपूर्वमा सुरक्षा चुनौतीहरूलाई अझ गहिरो बनाएको छ।
सैनिक विशेषज्ञहरूले भनेका छन् कि केसी–१३५ विमान ईन्धन आपूर्ति र हवाई रणनीतिक भूमिकाका लागि अत्यन्त महत्वपूर्ण भएको हुँदा यसको दुर्घटनाले अभियानको योजना र सञ्चालनमा असर पार्न सक्नेछ।






